सर्लाही – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकास्थित लालबन्दीचोक र नवलपुरचोकमा सञ्चालित १९ वटा अस्पताल बन्द गर्न निर्देशन दिएका छन्। अनुगमनका क्रममा ती अस्पतालहरू बिना अनुमति वा मापदण्ड विपरीत सञ्चालन भइरहेको पाइएको थियो।
मुख्यमन्त्री सिंहको नेतृत्वमा गरिएको अनुगमनमा २३ वटा स्वास्थ्य संस्था निरीक्षण गरिएका थिए, जसमा जम्मा दुईवटासँग मात्र सेवा सञ्चालन अनुमतिपत्र दुरुस्त रहेको पाइयो भने थप दुईवटाले नवीकरण गर्नुपर्ने देखिएको छ। बाँकी १९ अस्पताल भने नियमविपरीत सञ्चालन भइरहेको पुष्टि भएपछि सरकारले कडा कदम चालेको हो।
मुख्यमन्त्री सिंहले भने, “स्वास्थ्य क्षेत्र अत्यन्त संवेदनशील क्षेत्र हो, जहाँ मापदण्डको पूर्ण पालना अनिवार्य छ। जनताको स्वास्थ्यसँग खेलबाड गर्नेलाई कुनै पनि हालतमा छुट दिइने छैन।”
सरकारले स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न निरन्तर अनुगमन जारी राख्ने बताउँदै उनले अनियमित अस्पतालहरूलाई अब झन् कडा निगरानीमा राखिने बताए। “हामी कुनै सम्झौता गर्ने छैनौं। मापदण्ड उल्लंघन गर्ने स्वास्थ्य संस्थाहरूलाई कडा कारबाही हुन्छ,” सिंहले चेतावनी दिए।
मधेश सरकारले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न कडाइ गरिरहेको भन्दै मुख्यमन्त्री सिंहले सम्बन्धित निकायलाई जिम्मेवारीका साथ अघि बढ्न आग्रह गरे। “स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा लापरवाही सह्य हुँदैन। जनताको जीवनसँग खेल्ने जो–कोहीलाई कारबाही गरिनेछ,” उनले स्पष्ट पारे।



