जनकपुर : मधेश प्रदेश सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण प्रक्रियाबाट अलग रहने घोषणा गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार पत्रकार सम्मेलन गर्दै संघीय सरकारले परीक्षा व्यवस्थापनमा हस्तक्षेप गरेको आरोप लगाउँदै प्रदेश सरकार परीक्षा प्रक्रियाबाट अलग हुने निर्णयमा पुगेको बताए ।
मुख्यमन्त्री सिंहका अनुसार एसइई परीक्षा प्रणालीमा विगतदेखि नै चोरी, धाँधली र अनियमितता हुँदै आएको छ । प्रश्नपत्र बाहिरिने घटना, चिट चोराउने प्रवृत्ति तथा परीक्षा केन्द्राध्यक्ष र शिक्षकहरूको संलग्नता बढ्दै गएको भन्दै उनले सुधारका लागि प्रदेश सरकारले गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्त गर्नुपर्ने प्रस्ताव राखेको बताए । तर, संघीय सरकारले पुरानै प्रणालीलाई निरन्तरता दिँदै विद्यालयका प्रधानाध्यापकहरूलाई केन्द्राध्यक्ष बनाउने निर्णय गरेपछि मधेश प्रदेश सरकार असहमत बनेको छ ।
‘हामी निष्पक्ष र पारदर्शी परीक्षा प्रणाली चाहन्थ्यौं,’ मुख्यमन्त्री सिंहले भने, ‘तर, संघीय सरकारको हस्तक्षेपले सुधार सम्भव भएन, त्यसैले हामी परीक्षा प्रक्रियाबाट अलग हुने निर्णयमा पुगेका छौं ।’
पत्रकार सम्मेलनमा शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले केन्द्राध्यक्ष चयनमा ठूलो आर्थिक चलखेल हुने गरेको गम्भीर आरोप लगाइन् । ‘एसइई परीक्षालाई मर्यादित बनाउन हामीले विभिन्न सरोकारवालासँग छलफल गर्यौं,’ उनले भनिन्, ‘तर, संघीय सरकारले समन्वय नगरी एकलौटी रूपमा पुरानै प्रणाली लागू गरेको छ, जसले निष्पक्ष परीक्षा प्रणालीलाई कमजोर बनाउनेछ ।’
प्रदेश सरकारले गोलाप्रथाद्वारा केन्द्राध्यक्ष नियुक्त गर्ने आफ्नो निर्णयलाई संघीय सरकारले अस्वीकार गरेपछि मधेश सरकार असन्तुष्ट बनेको छ । संघीय शिक्षा मन्त्रालयको निर्णयले परीक्षा प्रणालीको निष्पक्षता र विश्वसनीयतामा गम्भीर प्रश्न उठाएको भन्दै प्रदेश सरकारले पारदर्शिता र सुधार नभएसम्म एसइई परीक्षा प्रक्रियामा संलग्न नहुने स्पष्ट संकेत दिएको छ ।



