सर्लाही : सर्लाही जिल्लाका भारतसँग जोडिएका मधुबनी, अर्नाहा र अन्य सीमावर्ती नाकाहरू अवैध गिट्टी–बालुवा तस्करीका मुख्य मार्ग बनेका छन्। नेपालका प्राकृतिक स्रोतहरूको दोहन गर्दै तस्करहरूले ठूलो मात्रामा गिट्टी–बालुवा भारत पुर्याइरहे पनि सुरक्षाकर्मी मौन देखिएका छन्।
मधुबनी र अर्नाहा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको पोस्ट तैनाथ भए पनि तस्करी रोक्न प्रभावकारी कदम नचालिएको स्थानीयवासीको गुनासो छ। सशस्त्र प्रहरी निरीक्षक लोकेन्द्र चन्द र प्रहरी सहायक निरीक्षक संजय यादवको सेटिङ्गमा तस्करी खुलेआम भइरहेको आरोप लगाइएको छ। तस्करीमार्फत गिट्टी–बालुवा, मदिरा, गाई–गोरु भारत पठाइँदै आएको छ भने कपडा, खाद्यान्न, स्पेयर पार्ट्स, धान, चामल, किराना सामग्री नेपाल भित्र्याइँदै आएको छ।
नेपाल सरकारले सीमा क्षेत्रमा सुरक्षा पोस्ट खडा गरी राजस्व चुहावट रोक्न खोजे पनि सुरक्षाकर्मीकै मिलेमतोले तस्करी नियन्त्रण सम्भव नभएको देखिन्छ। जब्त गरिएका अवैध सामानहरू भन्सार बुझाइनु पर्ने भए पनि सेटिङ्मै बिक्री वितरण भइरहेको छ।
चुरे क्षेत्र र प्रमुख खोलानालाबाट ठूलो मात्रामा गिट्टी–बालुवा उत्खनन भइरहेको छ। बागमती, लखनदेही, फुलजोर र बाँके खोलामा भइरहेको दोहनले वातावरणीय असन्तुलन निम्त्याएको छ। गर्मी महिनामा जलस्रोत सुकेर पानी संकट गहिरिँदै गएको छ, जसका कारण जिल्लाका सयौं गाउँहरूमा खानेपानीको अभाव हुने निश्चित छ।
सशस्त्र प्रहरी गणपति एसपी देव चन्दले राजस्व चुहावट रोक्न निर्देशन दिएको बताए पनि, स्थानीय स्रोतहरूका अनुसार प्रभावकारी कदम चालिएको छैन।
यदि तस्करी, राजस्व चुहावट, र चुरे दोहन यथावत् रह्यो भने यसको दीर्घकालीन असर भयावह हुने चेतावनी स्थानीय सरोकारवालाहरूले दिएका छन्।



