बर्दिबासमा घुमुवा गुरुङको आतंक: व्यापारीहरू असुलीको चपेटामा

बर्दिबास, महोत्तरी – इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत प्रहरी सहायक हवल्दार नारायण गुरुङविरुद्ध आर्थिक अनियमिततासम्बन्धी गम्भीर आरोपहरू निरन्तर उठ्दै आएका छन्। वर्षौँदेखि घुमुवा प्रहरीको रूपमा सक्रिय रहेका गुरुङले व्यापारी तथा व्यवसायीहरूबाट अवैध रूपमा रकम असुल्ने गरेको स्थानीय स्रोतहरू बताउँछन्।

२०७७ सालमा डिएसपी राजन चापागाईको कार्यकालमा गाडी चालकसँग तीन सय रुपैयाँ घुस लिएको आरोपमा उनी निलम्बनमा परेका थिए । तर, निलम्बनपछि पनि बर्दिबासमै सक्रिय रहँदै उनले व्यापारीहरूबाट रकम असुली जारी राखेको बताइन्छ। स्थानीय होटल व्यवसायी तथा व्यापारीहरूले गुरुङले नियमित रूपमा असुली गर्ने गरेको गुनासो गरेका छन् । ‘कालिया’ भनेर चिनिने एक कपडा व्यापारीसँग उनले बारम्बार रकम उठाउने गरेको स्रोतहरूको दाबी छ।

गुरुङले बर्दिबासमा आफ्नो निजी घरसमेत निर्माण गरिसकेका छन्, जसले उनीमाथि उठेका आर्थिक अनियमिततासम्बन्धी शंका थप बलियो बनाएको छ। यसअघि पनि अनैतिक गतिविधिमा संलग्न भएको आरोपमा निलम्बनमा परेका गुरुङ पुरानै शैलीमा असुली गरिरहेको व्यापारीहरू बताउँछन्।

स्थानीय व्यवसायीहरूले प्रहरी प्रशासनबाट सुरक्षा पाउनुको सट्टा असुलीको चपेटामा पर्नुपरेको गुनासो गरिरहेका छन्। साथै, रातु खोलाबाट गिट्टी–बालुवा ढुवानी गर्ने ट्र्याक्टर चालकहरूसँग समेत उनले रकम असुल्ने गरेको आरोप छ। हाल इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डिएसपी रेवतीरमन पोखरेलको सोझोपनको फाइदा उठाउँदै गुरुङले पुनः अवैध असुली बढाएको स्थानीय स्रोतहरू बताउँछन्।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय