सर्लाही, १७ फागुन – सर्लाहीको हरिवन नगरपालिका–११ स्थित राजमार्गमा बसको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ। घटनापछि फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ।
फागुन १५ गते बिहान करिब २:३० बजे चिनिमिल नजिकैको सडकमा हरिवन–४, तीनधरेस्थित टाईम्स वाटर फ्याक्ट्रीमा इलेक्ट्रीसियनको रूपमा कार्यरत मलंगवा नगरपालिका –५ भाडसर टोलका ४५ वर्षीय बुधेश कुमार सहनी गम्भीर अवस्थामा फेला परेका थिए । दुबै खुट्टा छेदबिच्छेद भएको अवस्थामा उनलाई उपचारका लागि हरिवनस्थित नमूना अस्पताल पुर्याईए पनि चिकित्सकले बिहान ३:०० बजे मृत घोषणा गरेका थिए।
ठक्कर दिने गाडी र चालक दुवै फरार रहेका थिए । प्रहरीले सिसिटिभी फुटेजको सहायता लिँदै अनुसन्धान गर्दा ना.६ ख ७४४५ नम्बरको सुपर कालिका बसले ठक्कर दिएको पुष्टि भएको थियो । सोही बस चितवनको माडी नगरपालिका–२, जीवनपुर टोल निवासी ३६ वर्षीय दिनेश मरदनियाले चलाइरहेको खुलेको छ ।
फागुन १७ गते बिहान ११:०० बजे हरिवन–११, कडरिया चोकबाट प्रहरीले बस सहित मरदनियालाई पक्राउ गरेको हो । उनलाई सर्लाही जिल्ला अदालतमा पेश गरी ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको छ। हाल उनी इलाका प्रहरी कार्यालय, हरिवनको हिरासतमा छन्।



