सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिका – ९ स्थित डिभिजन वन कार्यालय नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परेर एउटा निलगाईको मृत्यु भएको छ। नवलपुरबाट लालबन्दीतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२२ च ३७४९ नम्बरको कारले ठक्कर दिँदा निलगाई घटनास्थलमै मरेको हो।
दुर्घटनाका कारण कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ भने चालक भने घटनापछि सम्पर्कविहीन छन्। डिभिजन वन कार्यालयका वन अधिकृत सागर बस्यालका अनुसार मृत निलगाई र क्षतिग्रस्त कार कार्यालय परिसरमा राखिएको छ।
वन अधिकृत बस्यालले कार चालक सम्पर्कमा आएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार कानुनी प्रक्रिया अघि बढाइने बताएका छन्। डिभिजन वन कार्यालय आसपास रहेको उष्ण प्रदेशीय बागवानी केन्द्र क्षेत्रमा ठूलो संख्यामा निलगाई (घोडगधा) देखिने भएकाले वन्यजन्तु दुर्घटनाको जोखिम बढेको बताइन्छ।



