जनकपुर : मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले गुणस्तरीय स्वास्थ्य सेवा जनताको सहज, सुलभ, र समान पहुँचमा पुर्याउन प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन्। उनका अनुसार स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार ल्याउन प्रवद्र्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, तथा पुनःस्थापकीय सेवाको स्तरोन्नति सरकारले प्रमुख प्राथमिकतामा राखेको छ।
मन्त्री सिंहले पछिल्लो समय मधेश प्रदेशमा स्वास्थ्य सेवाको स्तर उकास्न नीतिगत सुधार, कानुनी व्यवस्था, तथा व्यवस्थापकीय सुधारहरूलाई तीव्र रूपमा अघि बढाइएको बताए। “हामीले स्वास्थ्य सेवा सुधारमा उल्लेखनीय प्रगति हासिल गरिरहेका छौं, तर अझै धेरै काम गर्न बाँकी छ। स्वास्थ्य क्षेत्रमा द्रुत सुधार ल्याउने चुनौती हाम्रो अघि छ,” उनले भने।
स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन पद्धति तथा प्रणालीको प्रभावकारी परिचालन आवश्यक रहेको उल्लेख गर्दै मन्त्री सिंहले साधन-स्रोत तथा मानव संसाधनको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताए। “स्वास्थ्य सेवा मात्र होइन, समग्र मानव विकास सूचकांकमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ,” उनले थपे।
उनका अनुसार आर्थिक व्यवस्थापन, अत्याधुनिक उपकरणयुक्त भौतिक पूर्वाधार, तथा दक्ष र सेवाभावी जनशक्तिको परिचालनबिना स्वास्थ्य क्षेत्रको प्रभावकारी सुधार सम्भव छैन।
मन्त्री सिंहले चार वर्ष नपुग्दै प्रतिष्ठानले विश्वसनीय प्राज्ञिक संस्थाको रूपमा पहिचान बनाएकोमा खुशी व्यक्त गर्दै, यसले प्रदेशका गरिब र असहाय बिरामीका लागि उत्कृष्ट चिकित्सकीय केन्द्रको रूपमा विकास गर्नु आवश्यक रहेको बताए। साथै, यस संस्थाले दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा पनि महत्वपूर्ण भूमिका निभाउनुपर्नेमा जोड दिए।



