काठमाडौँ । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका लागि तराई मधेसमा रहेका माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डलाई त्यहाँको शैक्षिक अवस्था सुधारका लागि पहल गर्न आग्रह गरिएको छ । सप्तरीमा रहेको इन्टलेक्चुअल फाउन्डेसन नेपालले अध्यक्ष प्रचण्डलाई आज राजविराजमा ज्ञापनपत्र बुझाउँदै सो आग्रह गरेको हो । मधेशको शिक्षा बिग्रिनुमा फाउन्डेसनले १३ वटा कारण देखाएको छ । विद्यालयमा व्यवस्थापन समितिमा राजनीतिक हस्तक्षेप, विद्यार्थी सङ्ख्या अनुदार दरबन्दी नहुनु, शिक्षकलाई विद्यालयले प्रशासनिक काममा लगाउनु, सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार एक अर्काका भरमा बसेर शिक्षाप्रति उदासीन रहनुले शिक्षाको अवस्था कमजोर भएको दाबी फाउन्डेसनले गरेको छ ।
त्यस्तै शिक्षा क्षेत्रमा पर्याप्त बजेट लगानी नहुनु, राजनीतिक दलले शिक्षामा ध्यान नदिनु, विद्यालयमा नातावाद, कृपावाद देखिनु, विद्यालयको भौतिक अवस्था कमजोर हुनु, शिक्षक कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा नपढ्नु, विद्यालयमा दलगत प्रभाव पर्नु र व्यवस्थापन समितिले विद्यालयका हेडमास्टरलाई प्रभावमा पार्नु, मातृभाषालाई प्राथमिकतामा नराख्नु र सरकारले शिक्षामा पर्याप्त बजेट नछुट्टाएका कारण शिक्षाको अवस्था दयनीय भएको दाबी फाउन्डेसनले गरेको छ ।
फाउन्डेशनका अध्यक्ष डा.सूर्यप्रसाद यादवले मधेसको शिक्षाका लागि सङ्घीय सरकारले कूल बजेटको कम्तीमा २५ प्रतिशत, प्रदेश सरकारले कूल बजेटको कम्तीमा २० प्रतिशत र स्थानीय सरकारले कूल बजेटको १५ प्रतिशत बजेट शिक्षामा लगानी गर्न बाध्यात्मक कानुन बनाउनुपर्ने माग गरेका छन् ।



