जनकपुरधाम, १५ फागुन – शारीरिक असक्तताका कारण प्रशासन कार्यालय पुग्न नसक्ने एक युवा घरमै नागरिकता पाउँदै नयाँ उत्साहको अनुभूति गरेका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-८, दिगम्बरपुरका २३ वर्षीय मुकेशकुमार महतो, जो ११ वर्षको उमेरदेखि पोलियोका कारण पूर्ण अपाङ्ग छन्, उनलाई जिल्ला प्रशासन कार्यालय धनुषाले घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।
प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको टोलीले मुकेशको घरमै पुगेर नागरिकता हस्तान्तरण गरेको छ । पूर्ण रूपमा अशक्त भएका कारण नागरिकता बनाउन कार्यालयसम्म जान नसक्ने मुकेशको अवस्थालाई मध्यनजर गर्दै प्रशासनले विशेष पहलस्वरूप घरमै पुगेर नागरिकता दिएको हो ।
नागरिकता प्राप्त भएपछि अब मुकेशले सरकारी सेवा तथा सुविधाहरू, विशेष गरी अपाङ्गता भत्ता प्राप्त गर्ने बाटो खुलेको छ । उनका परिवारले जिल्ला प्रशासनको यस कार्यको प्रशंसा गर्दै अपाङ्गता भएका व्यक्तिहरूका लागि यो उदाहरणीय पहल भएको बताएका छन् ।



