धनुषा – धनुषाको हंसपुर-६ का २३ वर्षीय कमल अधिकारी, जो सन् २०२२ को सेप्टेम्बर १७ मा अध्ययनका लागि बेलायत गएका थिए, फेब्रुअरी २ देखि सम्पर्कविहीन भएका छन्। अधिकारी युनिभर्सिटी अफ क्रियटिभ आर्ट्समा अध्ययनरत थिए।
उनी बेपत्ता भएपछि परिवारले नेपाल परराष्ट्र मन्त्रालयमा माघ २३ मा निवेदन दिएका थिए। सोही अनुरूप, लन्डनस्थित नेपाली दूतावासले खोजी प्रक्रिया अघि बढाएको छ। दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीका अनुसार लन्डन मेट्रोपोलिटन प्रहरी र स्थानीय समुदायसँग समन्वय भइरहेको छ।
यस क्रममा अधिकारीसँग मिल्दोजुल्दो हुलिया भएको एक नेपाली देखिएको खबर आएपछि खोजी टोली ग्लोस्टररोड पुगे पनि ती व्यक्ति अधिकारी नभएको पुष्टि भयो।
दुवाडीका अनुसार अधिकारीलाई पश्चिम लन्डनका घरबेटीले हटाएपछि उनी इलफोर्ड सेभेन किंग्स क्षेत्रका सुरज पण्डितसँग सम्पर्कमा आएका थिए। पण्डितले उनलाई बस्नका लागि नयाँ ठाउँ खोज्ने प्रयास गरे पनि अधिकारीको मानसिक अवस्था र व्यवहारका कारण अरू घरबेटीहरूले राख्न अस्वीकार गरे। अन्ततः फेब्रुअरी २ मा रेल चढ्नका लागि नेपाली समुदायले बाटो खर्च जुटाइदिएपछि उनी सम्पर्कविहीन भएका हुन्।
बेलायतमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूले विभिन्न चुनौती सामना गर्नुपरेको दूतावासले जनाएको छ। प्रारम्भिक योजनासँग मेल नखाने परिस्थितिले धेरैलाई मानसिक तनावमा पार्ने गरेको उल्लेख गर्दै, विदेश जानुअघि राम्रोसँग सोचविचार गर्न नेपाली दूतावासले सुझाव दिएको छ।



