नेपालमा एसएसबीको ज्यादती: निरन्तर कुटपिटबाट नेपाली नागरिकहरू घाइते, त्रास बढ्दो

सरोज यादव । सर्लाही, ०९ फागुन – भारतीय सशस्त्र सीमा बल (एसएसबी) द्वारा नेपाली भूमिमा प्रवेश गरी स्थानीय नागरिकहरूमाथि कुटपिट गर्ने घटनाहरू दिनप्रतिदिन बढ्दै गएका छन्। पछिल्लो दुई हप्ताभित्र सर्लाहीमा दुई नेपाली नागरिक एसएसबीको आक्रमणबाट गम्भीर घाइते भएका छन्।

सर्लाहीको बलरा नगरपालिकाका गोलु राय बिहीवार साँझ भारतको बसबीट्टा बजारबाट घर फर्किने क्रममा एसएसबीको लाठी प्रहारबाट मोटरसाइकलसहित लडेका थिए। घटनामा उनको दाहिने खुट्टा गम्भीर रूपमा भाँचिएको थियो। गम्भीर अवस्थाका रायलाई काठमाडौंस्थित बिएण्डबी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ रगत जमेपछि उनको खुट्टा नै काट्नुपरेको छ।

यसअघि २८ माघ बिहान बिष्णु गाउँपालिका-५ का राजीव पण्डित दशगजा क्षेत्र नजिकै रहेको आफ्नै खेतमा जाँदा भारतीय प्रहरी एसएसबीले उनलाई अनाहकमा कुटपिट गरेका थिए। एसएसबीका जवानहरूले “बोर्डरमा किन आएको?” भन्दै पण्डितमाथि आक्रमण गर्दा उनको बायाँ खुट्टा भाँचिएको छ। हाल उनको उपचार मलंगवा प्रादेशिक अस्पतालमा भइरहेको छ।

स्थानीय नागरिकहरूका अनुसार केही समयदेखि एसएसबीले दशगजा क्षेत्रमा नेपालीहरूमाथि गालीगलौज गर्ने, बेइज्जती गर्ने, र सानो कुरामा समेत कुटपिट गर्ने क्रम बढेको छ। ग्रामीण भेगका जनताहरू आफ्नै खेतबारीमा जानसमेत डराउन थालेका छन्।

पीडित परिवारले नेपाली प्रहरी प्रशासनलाई घटनाबारे जानकारी गराए पनि नेपाली पक्षबाट कुनै पनि ठोस कदम नचालिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

लगातार नेपाली भूमिमै एसएसबीको ज्यादती बढ्दै गएपछि स्थानीयवासीले सरकारसँग तुरुन्तै कूटनीतिक पहल गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्। दशगजा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्नुपर्ने र नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्नुपर्ने उनीहरूको जोडदार माग छ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय