सिरहाकी रिंकु सदा मृत्यु प्रकरण : बलात्कार र मिलापत्र आरोपमा ८ जनामाथि मुद्दा

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकु कुमारी सदाको रहस्यमय मृत्यु प्रकरणमा पीडित परिवारले सामूहिक बलात्कार र शंकास्पद घटनासँग जोडिएका ८ जनाविरुद्ध पूरक जाहेरी दिएका छन्।

इलाका प्रहरी कार्यालय, लहानमा दर्ता गरिएको जाहेरीमा कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक, र लेनदेन मिलापत्रसम्बन्धी चारवटा आरोप समेटिएको छ।

परिवारका अनुसार, सामूहिक बलात्कारमा संलग्न तीन जनासहित घटनालाई मिलाउन सक्रिय पाँच जना गाउँका पञ्चमाथि पनि जाहेरी परेको छ। सिरहाका प्रहरी उपरीक्षक रमेश पण्डितले पूरक जाहेरी दर्ता भइसकेको र अनुसन्धान अघि बढिरहेको बताए। तर अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन।

माघ ३० गते आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी रिंकुलाई माघ २७ गते राति बाहिर शौच गर्न जाँदा सामूहिक बलात्कार गरिएको खुलेको छ। घटनापछि गाउँमा पञ्चायती बैठक बसेर पीडकहरूलाई जरिवाना तिराउने र प्रहरीसम्म घटना पुग्न नदिने प्रयास गरिएको थियो।

घटनाबारे थप छानबिनका लागि मधेश प्रदेश प्रहरी कार्यालयले समिति गठन गरी अनुसन्धान अघि बढाएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय