सर्लाहीमा १५३ सवारी चालकको निःशुल्क आँखा परीक्षण, ४३ जनालाई चश्मा वितरण

सर्लाही, फागुन ८ – जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले ईश्वरपुर नगरपालिकासँग समन्वय गरी सवारी चालक तथा सह-चालकहरूको निःशुल्क आँखा परीक्षण सम्पन्न गरेको छ।

ईश्वरपुर नगरपालिका, आँखा उपचार केन्द्र ईश्वरपुर र रेडक्रस उपशाखाको सहकार्यमा गौचरणस्थित आँखा उपचार केन्द्रमा आयोजित स्वास्थ्य शिविरमा १५३ जनाको आँखा परीक्षण गरिएको ट्राफिक प्रहरी निरीक्षक रजोस घिमिरेले जानकारी दिए।

शिविरमा मोटरसाइकल, टेम्पो, बसलगायत सवारी साधनका चालक र सह-चालकहरूको आँखा तथा रक्तचाप परीक्षण गरिएको थियो। परीक्षण गराएकामध्ये १०० जनालाई औषधि तथा ४३ जनालाई चश्मा निःशुल्क वितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीले जनाएको छ।

ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले नगरपालिकाले भरतपुर आँखा अस्पतालसँगको सहकार्यमा वार्षिक रूपमा सञ्चालन गर्ने स्वास्थ्य कार्यक्रमअन्तर्गत यो दोस्रो पटक सवारी चालक तथा सह-चालकहरूको आँखा परीक्षण गरिएको बताए।

कार्यक्रममा नगरप्रमुख आचार्य, ट्राफिक प्रहरी निरीक्षक घिमिरे, इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक उमाकान्त जोशी तथा विभिन्न वडाका वडाध्यक्षहरूको उपस्थिति रहेको थियो।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय