बागमतीमा लागुऔषध कारोबारमा संलग्न दम्पती पक्राउ, मुख्य सप्लायर फरार

सरोज यादव । सर्लाही, फागुन ७ – ईलाका प्रहरी कार्यालय कर्मैयाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक सुवास यादवको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा सर्लाहीको बागमती नगरपालिका-१ बाट लागुऔषध कारोबारमा संलग्न श्रीमान-श्रीमतीलाई पक्राउ गरेको छ भने ४० वर्षीय मुख्य आरोपी फरार रहेका छन्।

प्रहरीका अनुसार, बागमती सिचाइ नहर क्षेत्र हुँदै लागुऔषध ओसारपसार गरिरहेको सूचना पाएपछि प्रहरी टोलीले निगरानी बढाएको थियो। सोही क्रममा ३६ वर्षीय मोहन बहादुर खत्री, जो मोटरसाइकल (ना.२८ प.८७७) चलाइरहेका थिए, उनलाई रोक्न खोज्दा उनी भाग्न प्रयास गरे। प्रहरीले उनलाई नियन्त्रणमा लिएर जाँच गर्दा मोटरसाइकलको लेगार्डमा कालो प्लास्टिकको झोलाभित्र WINCEREX 100 ML लेखिएको १० बोतल लागुऔषध फेला परेको थियो। सोधपुछका क्रममा उनले ती औषधि बरुण रायमाझी नामक व्यक्तिसँग खरिद गरेको स्वीकार गरे।

अनुसन्धानलाई थप अघि बढाउँदै प्रहरी टोलीले मोहन बहादुर खत्रीको घरमा छापा मार्दा पछाडिको खाल्डोमा लुकाइराखिएको अवस्थामा WINCEREX 100 ML का २७ बोतल फेला परे। सोही प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले मोहन बहादुर खत्रीकी ३४ वर्षीया श्रीमती देबिका खत्री (खिम कुमारी खत्री) लाई पनि नियन्त्रणमा लिएको छ। यस्तै, बरुण रायमाझीको घर तलासी गर्दा सुत्ने कोठाबाट सोही औषधिको १ बोतल फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेकासँगै लागुऔषधका ३८ बोतल, प्रयोग गरिएको मोटरसाइकल, दुई वटा मोबाइल फोन तथा अन्य सामग्रीहरू बरामद गरेको छ। हाल मुख्य आरोपी ४० वर्षीय बरुण रायमाझी फरार रहेका छन् भने उनलाई पक्राउ गर्न खोजतलास जारी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दम्पतीमाथि लागुऔषध नियन्त्रण ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय