प्रजातन्त्र दिवसको अवसरमा मलंगवा अस्पतालमा बिरामीहरूलाई फलफुल वितरण

सर्लाही, ०६ फागुन – ७५औं प्रजातन्त्र दिवसको अवसरमा सर्लाहीको प्रादेशिक अस्पताल मलंगवामा उपचाररत बिरामीहरूलाई फलफुल वितरण गरिएको छ। प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

फलफुल वितरण कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र कुशवाहा, नागरिक समाजका अध्यक्ष उग्रकान्त झा, शिवचन्द्र चौधरी लगायतका महानुभावहरूको उपस्थिति थियो।

तीन दिनसम्म विविध कार्यक्रमहरू आयोजना गरी ७५औं राष्ट्रिय प्रजातन्त्र दिवस हर्षोल्लासका साथ मनाइने योजना अनुसार पहिलो दिन फलफुल वितरण गरिएको हो। सूचना अधिकारी मुकेश यादवका अनुसार भोली बुधवार प्रभातफेरी, रक्तदान तथा जनप्रतिनिधि र कर्मचारीहरूबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिनेछ। त्यसैगरी बिहीवार सरकारी तथा गैरसरकारी कार्यालयहरूमा दीपावली कार्यक्रमसमेत गरिनेछ।

बुधवार बिहान ७ बजे हुने प्रभातफेरीमा सुरक्षा निकायका प्रमुख, नगरप्रमुख, पालिका अध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, कार्यालय प्रमुख तथा अन्य व्यक्तित्वहरूको उपस्थिति रहने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

सन् २००७ साल फागुन ७ गते जहानियाँ राणा शासनको अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष प्रजातन्त्र दिवस मनाइँदै आइएको छ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय