सरोज यादव । सर्लाही : लिटिल बुद्धका नामले चिनिने रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालका अनुसार बम्जनविरुद्ध ८.५ करोड रुपैयाँको बिगो दावी गरिएको छ।
सोमबार सर्लाही जिल्ला अदालतमा दायर भएको यस मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका सूचना अधिकारी नारायणप्रसाद घिमिरेका अनुसार मुद्दा दर्ता गरिएको जानकारी प्राप्त भएको छ।
यसअघि, बम्जनविरुद्ध बाल यौनशोषणको मुद्दा अदालतमा विचाराधीन छ र काठमाडौंस्थित उनको घरमा खानतलासी गर्दा नगद रकम बरामद भएको थियो। उक्त रकमको आधारमा विभागले सम्पत्ति शुद्धीकरणको प्रक्रिया सुरु गरेको हो।



