जनकपुरका निजी अस्पतालमा कमिसनको धन्दा, मुख्यमन्त्री सिंहको अनुगमनबाट पर्दाफास

जनकपुरधाम, ४ फागुन — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले हालै जनकपुरधामका केही निजी अस्पतालमा भइरहेको अनियमितता र कमिसनको खेल उजागर गरेका छन्। उनका अनुसार, नियमअनुसार सञ्चालित अस्पतालहरूमा बेड खाली रहँदा पनि अनाधिकृत निजी अस्पतालहरूमा बिरामीको चाप अत्यधिक देखिएको छ। उनले एम्बुलेन्स चालक र केही दलालहरूको मिलेमतोमा बिरामीलाई जबरजस्ती निजी अस्पतालतर्फ पठाउने गलत अभ्यास चलिरहेको खुलासा गरेका छन्।

यही सन्दर्भमा, मुख्यमन्त्री सिंहले “सरोज” नाउँ भएको ३११२ नम्बरको एम्बुलेन्स चालकको परिचय दिँदै एक निजी अस्पतालका सुरक्षागार्डसँग फोन संवाद गरेका थिए, जसको भिडियो सार्वजनिक भएसँगै अनियमितताको थप प्रमाण बाहिर आएको छ। भिडियोमा उनले “मोटो रकम तिर्ने बिरामी लिएर आएको छु” भनेपछि अस्पतालका सुरक्षागार्डले “चेकिङका कारण जनकपुर मोडल अस्पताल आइतबार १२ बजे बन्द भएकाले बिरामीलाई नजिकैको गोदावरी अस्पताल लैजान” सल्लाह दिएको सुन्न सकिन्छ।

संवादकै क्रममा मुख्यमन्त्री सिंहले “गोदावरी अस्पतालले राम्रो कमिसन दिने कि नदिने” भन्ने प्रश्न गर्दा, ती सुरक्षागार्डले “त्यसबारे छुट्टै कुराकानी गर्नुपर्ने” प्रतिक्रिया दिएका थिए। यसबाट पुष्टि हुन्छ कि निजी अस्पतालहरूले एम्बुलेन्स चालकलाई बिरामी ल्याएबापत आर्थिक अवस्थाअनुसार कमिसन दिने चलन रहेको छ।

सरकारी अनुगमन टोलीको सक्रियतापछि जनकपुर मोडल अस्पताललगायतका अन्य निजी अस्पतालहरूमा त्रासको वातावरण छाएको छ। यसै क्रममा, मुख्यमन्त्री सिंहको नेतृत्वमा अनुगमन टोलीले जनकपुर मोडल अस्पतालका सञ्चालकलाई शनिबार र आइतबारको सिसिटिभी फुटेजसहित छलफलका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएको छ।

यो घटनाले मधेश प्रदेशमा निजी अस्पतालको सञ्चालन, कमिसनको चलखेल र स्वास्थ्य सेवाको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय