सर्लाही, फागुन ३ गते – सम्मानित सर्लाही जिल्ला अदालतबाट विभिन्न समयमा भएका फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहतका प्रहरी इकाइहरूले माघ महिनाभर विभिन्न मुद्दामा फरार रहेका ९५ जना अभियुक्तलाई पक्राउ गरी अदालत समक्ष पेश गरेको छ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका अभियुक्तहरूमध्ये कतिपय लामो समयदेखि फरार रहेका थिए। पक्राउ परेका अभियुक्तहरूमाथि अदालतको आदेशअनुसार कैद तथा जरिवाना असुल उपर गरिएको छ।
सर्लाही जिल्ला अदालतबाट जारी गरिएको आदेशअनुसार यस अवधिमा कुल ६ वर्ष, ६ महिना, ६ दिनको कैद सजाय तथा रु. १६,९४,६२९ जरिवाना असुल गरिएको छ।
प्रहरी प्रशासनले अदालतका फैसलाहरू कार्यान्वयन गर्दै न्याय प्रणालीलाई सशक्त बनाउन निरन्तर खोजतलास तथा कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ। साथै, फरार अभियुक्तहरूलाई खोजी गर्दै पक्राउ गर्ने अभियानलाई अझ प्रभावकारी बनाइने जनाइएको छ।



