सर्लाहीमा तीन दिनसम्म विविध कार्यक्रमसहित राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने

सर्लाही: सर्लाहीमा राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ विशेष समारोहसहित तीन दिनसम्म मनाइने भएको छ। जिल्ला प्रशासन कार्यालय मलंगवामा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।

बैठकमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, नगरप्रमुख, पालिका अध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो। बैठकले जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंहको नेतृत्वमा जिल्लास्तरीय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन गर्ने निर्णय गरेको छ।

समारोहको पहिलो दिन, फागुन ६ गते, प्रादेशिक अस्पताल मलंगवामा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिनेछ। मुख्य दिन, फागुन ७ गते, सदरमुकाम मलंगवामा प्रभातफेरि, जिल्ला प्रशासन कार्यालयमा झण्डोत्तोलन, रक्तदान कार्यक्रम तथा तीनबिघे मैदानमा जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिनेछ।

यसैगरी, फागुन ६, ७ र ८ गते जिल्लाका सबै सरकारी कार्यालय, सार्वजनिक तथा सामुदायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान तथा आम नागरिकलाई साँझ दीप प्रज्वलन गर्न आह्वान गरिएको छ। साथै, विभिन्न पालिकाहरूमा राष्ट्रिय झण्डा फहराउने तथा अन्य रचनात्मक कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय