काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले आफूलाई विरोध गर्नेहरूलाई कडा चेतावनी दिएकी छिन् ।आफ्नो आलोचना गर्नेलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत उनले ‘रास्वपा हुँ’ भनिरहेकाहरू कुनै न कुनै काण्डमा मुछिएको दाबी गरेकी हुन् ।उनले अघिल्लो बिगत खोतल्दै जाने हो भने अहिले आफूलाई ‘रास्वपा हुँ’ भनिरहेकाहरू कुनै न कुनै काण्डमा मुछिएको दाबी गरिन् ।
संग्रौलाले फेसबुकमा लेखेकी छिन्, ‘जसले आज मेरो विरोध गरेर आफू रास्वपा हुँ भनिरहेका छन्, तिनीहरूको बिगत खोज्दै जाने हो भने एउटा न एउटा काण्डमा मुछिएकै छन्। मैले पर्दाफास गर्दै गए भने भोलि नाकमुख देखाउन गाह्रो होला, महोदय ! तसर्थ संयमित बन्नुहोस्।’
उनले आफ्नो आलोचना गर्नेलाई लक्षित गर्दै लेखेकी छिन्, ‘मेरो एउटा सामान्य लेखाइको त्रुटि, त्यो पनि सच्याएर तीन वटा स्पष्टीकरणसहितका स्टाटस लेख्दा पनि मलाई खेद्न छोडेका छैनन्। तर म कतै बिचलित भएकी छैन। किनभने यस्ता बाधाका पहाडमाथि टेक्दै जीवनको उकालो चढेको निकै साल भइसक्यो।’
संग्रौलाले चुनावी अभियानका क्रममा आर्थिक अपचलनका कारण निलम्बनमा परेका ‘भूतपूर्व’हरूले आफूविरुद्ध बोल्नु सुहाउँदो नभएको बताएकी छिन्। ‘मैले कुनै अपराध गरेकी छैन, कसैको एक सुको खाएको छैन, पार्टीभित्र बसेर गुट र फुटको धन्दा गरेको छैन।’
उनले स्पष्ट पार्दै भनेकी छिन् कि आफू रास्वपा सभापति रवि लामिछानेकै कारण पार्टीमा टिकिरहेकी छिन्। साथै, यदि आवश्यक परे आफ्नो अभिव्यक्तिबारे पार्टीको अनुशासन समितिलाई जवाफ दिन तयार रहेको बताएकी छिन्। ‘मेरो अभिव्यक्तिको विषयमा पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेमा जुनसुकै ठाउँमा उभिएर पनि जवाफ दिन तयार छु।’



