सर्लाहीमा बाक्लो हुस्सु र शीतलहर, ज्यालादारी मजदुर प्रभावित

सर्लाही। सर्लाहीसहित मधेश प्रदेशका जिल्लाहरूमा बाक्लो हुस्सु र शीतलहरसँगै कठ्याङ्ग्रिने जाडो बढेको छ। चिसो हावासँगै शीत पनि झरिरहेकाले जनजीवन कष्टकर भएको हो।
बाक्लो हुस्सुसँगको शीतलहरका कारण प्रायः मानिसहरू दिनभरजसो आगो तापेर बस्ने गर्छन्। चिसोले यहाँका ज्यालादारी गर्ने मजदुर सबैभन्दा बढी प्रभावित भएका छन्। बाक्लो हुस्सु र शीतलहरले बिहान र बेलुका काम नै गर्न नसकेको रिक्सा चालक हरिचन्द्र साहले बताए।
दैनिक ज्यालादारी नै प्रभावित हुनुका साथै घर खर्च पुर्याउन मुस्किल परेको उनको गुनासो छ। यसबेला खासै यात्रु नपाउने गरेको उनले बताए। अहिले मुस्किलले दैनिक रु पाँच सयको हाराहारीमा कमाइ हुने गरेको उनको दुखेसो छ।
कुहिरो र चिसो हावाका कारण दैनिक कामकाजमा प्रभावित हुनुका साथै स्वास्थ्यसम्बन्धी समस्या पनि देखापरेको छ। यहाँका बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन्। चिसोका कारण श्वासप्रश्वास, निमोनिया र ज्वरोको समस्या बढ्न थालेको प्रादेशिक अस्पताल गौरले जनाएको छ।
कृषि ज्ञान केन्द्र गौरका अनुसार शीतलहरका कारण आलु, गोलभेँडालगायतका तरकारी बालीमा डढुवा रोगको समस्या देखिएको छ।
शीतलहरका कारण आलु बालीको डाँठ र पातमा डढुवाको प्रकोप देखिएकाले बालीलाई जोगाउन हप्तामा एकपटक कीटाणुनाशक विषादी पाउडर पानीमा मिसाएर छर्किन सुझाव दिएको छ।
यता जिल्ला ट्राफिक कार्यालय सर्लाहीले बाक्लो हुस्सुमा सवारीसाधन चलाउँदा विशेष ध्यान दिन आग्रह गरेको छ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय