सर्लाही, १३ माघ – सर्लाही जिल्ला कांग्रेस सभापति नारायणप्रसाद सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै पदमुक्त गर्न माग गर्दै नेपाली कांग्रेसका नेता-कार्यकर्ताहरूले पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्।
सिंहलाई सर्वोच्च अदालतले चार महिना १५ दिनको जेल सजाय सुनाइसकेको भए पनि उनी हालसम्म जिल्ला सभापतिको पदमा कायम रहेका छन्। यो अवस्थाप्रति विरोध जनाउँदै पूर्व जिल्ला सभापति लक्ष्मण राय र वर्तमान उपसभापति नवीन अधिकारीको नेतृत्वमा सयभन्दा बढी नेता-कार्यकर्ताहरूले आन्दोलन सुरु गरेका हुन्।
तरुण दलका केन्द्रीय सदस्य ललनकुमार यादवका अनुसार सिंहलाई हटाउन पार्टीभित्र लामो समयदेखि आवाज उठाइरहे पनि नेतृत्वले कुनै निर्णय नगरेपछि बाध्य भएर धर्नाको सहारा लिनुपरेको हो। यादवले भने, “भ्रष्टाचारको मुद्दामा दोषी ठहर व्यक्तिले सार्वजनिक पदमा बस्न नपाउने कानुनी र नैतिक दायित्व हो। तर, ९-१० महिनादेखि पनि पार्टी नेतृत्वले कदम नचालेकोले यो आन्दोलन सुरु गरिएको हो।”
पार्टीका नेता-कार्यकर्ताहरूले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमा उतार्न आग्रह गर्दै दोषी ठहर व्यक्तिलाई तुरुन्तै पदमुक्त गर्न माग गरेका छन्।



