सर्लाही, चन्द्रनगर – चिसो तथा शीतलहरको प्रभावलाई मध्यनजर गर्दै सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका ३ र ४ का ५५ अतिविपन्न दलित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट फाइवर सिरक वितरण गरिएको छ।
जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी श्री तुलसी बहादुर श्रेष्ठज्यूको अध्यक्षतामा आयोजित कार्यक्रममार्फत यी सामग्री वितरण गरिएका हुन्। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी श्री होम प्रसाद घिमिरे, प्रहरी उपरीक्षक श्री रबिन्द्र बहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक श्री बिनोदराज खनाल, चन्द्रनगर गा.पा. की उपाध्यक्ष गिता देवी, स्थानीय प्रहरी चौकी इन्चार्ज र वडा अध्यक्षलगायतको उपस्थिति रहेको थियो।
फाइवर सिरक वितरणसँगै अतिविपन्न परिवारलाई चिसोबाट सुरक्षित राख्ने प्रयास गरिएको जनाइएको छ। कार्यक्रममा प्रमुख अतिथिहरूले चिसो तथा शीतलहरबाट प्रभावित परिवारहरूको जीवन सहज बनाउन सरकारका विभिन्न योजनाहरू कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाएका छन्।
उक्त सहयोगप्रति लाभान्वित परिवारहरूले हर्ष व्यक्त गर्दै यस्ता प्रयासले समाजका विपन्न वर्गहरूको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।



