जनकपुर : नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति एवं पूर्वमन्त्री बिरेन्द्र प्रसाद सिंहले मधेसको विकास र मधेशी समुदायको समस्याको सम्बोधनमा गम्भीर बन्न सबै पक्षलाई आग्रह गरेका छन्। उनले केन्द्रबाट रिमोट नियन्त्रणको राजनीति अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउँदै मधेसलाई आत्मनिर्भर बनाउनेतर्फ ठोस कदम चाल्न जोड दिएका छन्।
सिंहले मधेस र मधेशीको हकहितका लागि आफ्नो योगदानलाई निरन्तरता दिँदै आएका छन्। रातदिन खटिने, इमानदार र सालिन नेताका रूपमा परिचित सिंहले मधेसको सामाजिक, आर्थिक र राजनीतिक विकासका लागि प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार मधेसको समस्या समाधानका लागि केन्द्र र प्रदेश दुवै सरकार गम्भीर हुनु आवश्यक छ। “मधेशी जनताको आकांक्षालाई सम्बोधन नगरेसम्म सिङ्गो राष्ट्रको समृद्धि सम्भव छैन,” उनले भने।
सिंहको यो अभिव्यक्तिले मधेसका जनतामाझ सकारात्मक सन्देश प्रवाह गरेको छ। मधेसको समस्या समाधानका लागि सिंहजस्ता नेताको सक्रियता र दृष्टिकोणले देशको समग्र विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।



