सरोज यादव । भदौ २१, सर्लाही । पछिल्लो समय धेरै हदसम्म नियन्त्रणमा रहेको अवैध तस्करी गराउने सर्लाहीको नारायणपुर नाकाबाट खुलेआम तस्करी भइरहेको छ ।
सो क्षेत्रको सीमा पारी र वारीका तस्करहरूले अहिले दिनरात भारतबाट कपडा र किराना सामान अवैध रुपमा तस्करी माध्यमबाट नारायणपुर भित्र्याई देशका विभिन्न मुख्य बजारहरूमा पठाउने गरेको खबर प्राप्त भएको छ ।
मुख्य नाकाबाट तस्करी भएको समाचारहरू धेरै आउन थालेपछि अहिले तस्करहरूले अरू नाकाहरू प्रयोग गरेर तस्करी धन्दा गर्न शुरू गरेका छन् । नारायणपुर नाका अहिले तस्करहरूको लागि सबैभन्दा सुरक्षित र सजिलो भएको छ । नेपाल प्रहरीको सहयोग र संरक्षणमा यहाँबाट यस्तो तस्करी धन्दा हुदै आएको स्थानीय व्यवसायीहरू बताउँछन् ।
अहिले यो नाकाबाट सबैभन्दा बढी काजु , कपडा र भारतीय कुखुराको ठूलो तस्करी हुदै आएको छ । सन्तोष साहले ठूलो मात्रामा काजुको तस्करी गर्दै आइरहेका छन् । उनले दैनिक लाखौं लाखको काजु भन्सार नतिरी तस्करी गरिरहेका छन् । त्यसैगरी भारतको इनर्वा गाउँ घर भएका विजय साह र पुकार यादवले ठूलो मात्रामा कपडाको तस्करी गरिरहेका छन् । उनीहरूले मोटरसाइकल र कहिलेकाही पिकअप प्रयोग गरेर समेत कपडाको तस्करी गरिरहेका छन् ।
यसबाहेक भारत वथवारा घर भएका उमेश ठाकुरले पनि ठूलो मात्रामा कपडाको तस्करी गरिरहेका छन् । भण्डारी भनेर चिनिने व्यापारीले त बाहिर फूलको व्यापार देखाएर कपडाको ठूलो तस्करी गरिरहेका छन् । यसबाहेक भारतीय नागरिक धर्मेन्द्र र हिरनले कस्मेटिकको ठूलो तस्करी गरिरहेका छन् । सहेमुल्लाह समेतका तीन जनाले पिकअपमा नै गाई, भैसी, खसिबोकाको ठूलो तस्करी यसै नाकाबाट गरिरहेका छन् ।
यो तस्करी धन्दामा स्थानीय प्रहरी चौकीका प्रमुख असई महेन्द्र चौधरीको संरक्षण र सेटिङ रहेको स्थानीय व्यावसायीहरू बताउँछन् । उहाँ आएलगत्तै नाकामा तस्करी गराउने माहिर बनेको बुझिन्छ । ब्यापारी टेम्पु र पिकअपको प्रयोग गरी मालसामान गन्तव्यसम्म पुर्याउने गरेका छन् ।
तस्करी नियन्त्रणका लागि सरकारले सक्रिय बनाएका विभिन्न निकाय नै तस्करसँग मिलोमतो गर्दा सर्लाहीको नारायणपुर सँगै अन्य नाकाहरूबाट करोडौंको अवैध मालसामान वयलवास र लालबन्दी हुँदै देशका विभिन्न क्षेत्रमा पुर्याउने कार्य तीब्र बनेको छ ।
यसबाहेक यो नाकाबाट ठूलो मात्रामा भारतीय कुखुराको तस्करी हुदै आएको छ । भारतको सोहार्वा गाउँमा बिरेन्द्र यादवको कुखुराको ठूलो सेल फार्म रहेको छ । त्यही होलसेलबाट सीमावर्ती क्षेत्रमा बस्ने नेपालीहरू उपेन्द्र साह , रामेश्वर साह , रामबीर पल्धारी र अरविन्द साहले भारतीय कुखुरा तस्करी गरि नेपाल भित्र्याउने काम गर्दै आएका छन् । भारतीय कुखुरा नेपाल भित्र्याउने र नाम मात्रको कागजी दर्ता रहेका फार्ममा पालेको कागज बनाउने र क्वारेन्टाइनको सेटिङमा कागज बनाई अन्यत्र लैजाने काम हुदै आएको छ । अरबिन्द साहले भारतबाट कुखुरा ल्याउने र नेपालबाट रक्सी भारत पठाउने दोहोरो धन्दा पनि गरिरहेका छन् । यो नाकाबाट सर्लाहीमा ठूलो भारतीय कुखुरा र गाईको तस्करी धन्दा हुदै आएको छ ।



