अरोज यादव । वैषाख १२,सर्लाही । हरिपुर नगरपालिका – ८ जगतपुरस्थित नवलपुर – मलंगवा सडक खण्डमा सोमवार सवारी चेकिङमा खटिएका ट्राफिक प्रहरी जवान भारतीय स्कार्पियोको ठक्करबाट गम्भीर घाइते भएका छन् ।
नवलपुरबाट मलंगवातर्फ गइरहेको बीआर ०६ पिएफ ०१९३ नम्वरको स्कारपियोले ठक्कर दिँदा बाराको प्रसौनी घरभई ट्राफिक प्रहरी पोष्ट हरिपुरमा कार्यरत जवान २८ वर्षीय शैलेन्द्र साह घाइते हुनुभएको हो । उनको दाहिने खुट्टा भाँचिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते ट्राफिक प्रहरी जवान शाहलाई नवलपुरमा सामान्य उपचार पश्चात थप उपचारका लागि बिरगंज पठाईएको छ ।
तीव्र गतिमा रहेको स्कारपियो ट्राफिक प्रहरीलाई ठक्कर दिएर तीव्र गतिमै फरार भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
दुर्घटना गराएर भागेको स्कारपियो हरिवन ५ घुर्कौलीस्थित खेतमा फेला परेको छ । स्कारपियो चालक भने फरार भएका छन् । उनको खोजी कार्य भइरहेको सर्लाहीका ट्राफिक प्रहरी निरीक्षक लेखनाथ मैनालीले बताए ।



