सर्लाही — सर्लाही सदरमुकाम मलंगवास्थित एक स्थानीयको घरमा आइतबार राति लागेको आगलागी नियन्त्रणमा दमकल नआएको भन्दै आक्रोशित भीडले आगो निभाउन आएको प्रहरीको गाडीसहित केही कार्यालयहरुमा ढुंगामुढा गरेका छन् ।
मलंगवा नगरपालिका–४ शिवसागर चोकमा आइतबार ८ बजेर १५ मिनेटमा स्थानीय रामस्वरुप चमारको फुसको छाना भएको घरमा आगो लागेको थियो । आगोले जलेर घर खरानी भइरहँदा पनि निभाउन दमकल नआएको भन्दै आक्रोशित भीडले आगो निभाउन आएका प्रहरीको गाडीसहित नगरपालिका कार्यालय, मेयर नागेन्द्र यादवको घर, जिल्ला प्रशासन, जिल्ला अदालत लगायतका कार्यालयमा ढुंगामुढा गरेका छन् । आक्रोशित भीडको ढुंगामुढाबाट यी सबै ठाउँमा क्षति पुगेको छ ।
नगरपालिकामा पुगेको भीडले कम्पाउन्डमा रहेका दुइटा मोटरसाइकलमा आगजनीको प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेर भीडलाई तितरबितर पारेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको बताउँदै थप क्षति हुनबाट जोगाइएको बताए ।
आक्रोशित भीडलाई नियन्त्रणमा लिने क्रममा स्थानीयको ढुंगामुढाबाट ५ जना प्रहरी घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले भीड नियन्त्रण गर्ने क्रममा ढुंगामुढा गर्ने ७ जनालाई पनि नियन्त्रणमा लिएको छ ।
दिन प्रतिदिन आगलागीका घटना भइरहँदा मलंगवा नगरपालिकाको वारुणयन्त्र भने बिग्रेर बनाउन पठाइएको छ । वारुण यन्त्र तुरुन्त मगाउने प्रयास भइरहेको मलंगवा नगरपालिकाले जनाएको छ । मलंगवाका युवा नेता शमिमबाबु पठानले दैवीप्रकोप जस्ता दुःखद घटनामा स्थानीय सरकार जनता प्रति इमान्दार र जिम्मेवार बन्न जरुरी रहेको बताए । अहिले जिल्ला भरमा हरिवन नगरपालिकाको वारुण यन्त्रको मात्रै भर रहेको छ ।



