काठमाडौँ — भारतको उत्तर प्रदेशको प्रयागराजमा पूर्वसांसद अतिक अहमद र उनका भाइ अशरफको गोली हानी हत्या गरिएको छ । प्रहरीका अनुसार उक्त हत्यामा संलग्न व्यक्तिहरू पत्रकारको कार्ड भिरेर आएका थिए । गोली हान्ने तीनै जनालाई प्रहरीले तत्काल नियन्त्रणमा लिइएको प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
यसैबीच मुख्यमन्त्री आदित्यनाथ योगीले यस घटनापछि विस्तृत विवरण लिएर उच्चस्तरीय बैठक बोलाउँदै उच्चस्तरीय अनुसन्धान गर्न आदेश दिएका छन् । घटनाको अनुसन्धानका लागि तीन सदस्यीय न्यायिक आयोग गठन गर्ने भनिएको छ । प्रयागराजस्थित पुलिस कमिसनरले घटनाबारे बताउँदै भने‚ ‘कानुनी प्रक्रिया पूरा गर्नका लागि अतिक अहमद र अशरफलाई मेडिकल जाँचका लागि लैजाँदै गर्दा उनीहरूको हत्या गरिएको छ ।’ उनका अनुसार गोली प्रहार गर्ने तीनै जना मोटरसाइकलमा आएका थिए ।
यो हमलापछि प्रहरीले अस्पताल नजिकको क्षेत्रमा आवतजावत बन्द गरेको छ। हत्यामा संलग्न तीन जनालाई नियन्त्रणमा लिए पनि उनीहरूको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन । अतिक अहमदविरुद्ध १०० भन्दा बढी मुद्दाहरू थिए ।
कसरी भएको थियो हत्या ?
अतिक अहमदलाई प्रहरी सुरक्षामा गाडीबाट निकालेर मेडिकल जाँचका लागि लगिँदै थियो । यसै क्रममा अस्पताल अगाडि रहेका पत्रकारले अतिक र उनका भाइसँग कुराकानी गर्न लाग्दा अचानक केही व्यक्तिहरूले नजिकैबाट गोली चलाएका थिए ।
भिडियोमा कैद भएको उक्त घटनामा अतिक अहमद र अशरफलाई बोकेको प्रहरीको गाडी अस्पताल अगाडि रोकिएको देखिन्छ । उक्त गाडीबाट प्रहरीको सुरक्षामा दुवै जना गाडीबाट झरेर पत्रकारहरूसँग कुरा गर्दै केही दूरीमा हिँड्दै गर्दा पत्रकारले उनको छोरोको अन्तिम संस्कारमा सहभागी हुन गएको वा नगएको विषयमा प्रश्न गर्छन् । उक्त प्रश्नको जवाफमा अतिकले ‘उनीहरूले लगेनन्‚ त्यसैले हामी जान पाएनौं’ भन्दै प्रतिक्रिया दिन्छन् । यही क्रममा केही व्यक्तिले उनीहरूमाथि लगातार गोली प्रहार गर्न थाल्छन्‚ जुन दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
विधायक राजु पालको हत्याको विषयमा अतिक अहमद र अशरफ जेलमा थिए । अपहरणको आरोपमा अहमद सन् २०१९ मा पनि जेल परेका थिए ।
ई – कान्तिपुर बाट साभार



