काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । गभर्नर महाप्रसाद अधिकारीलाई तत्काल पदबाट नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएपछि नैतिक संकटमा परेका अर्थमन्त्री शर्मालाई राजीनामा दिन कांग्रेसले भनेको हो । उनले राजीनामा दिएर नैतिकता देखाउनुपर्ने चौतर्फी आवाज उठिरहेको छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि सामाजिक सञ्जालमार्फत उनले राजीनामा दिएर नैतिकता देखाउनुपर्ने तर्क गरेका छन् ।
शर्माले पूर्वअर्थमन्त्री महेश आचार्यको उदाहरण दिँदै आफ्नो अभिव्यक्ति सामाजिक सञ्जालमा भनेका छन्, ‘बेलाबेला यस्तो तस्बिर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्- नैतिक मुल्यको प्रस्तुतिलेनै सुन्दर बन्दै जान्छ राजनीति ! समयले सम्झना गरिरहेको छ कांग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर विदाइको निर्णय अदालतले उल्ट्याएपछी अर्थमन्त्रीबाट राजीनामा दिनुभयो।’
०५६ सालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री र महेश आचार्य अर्थमन्त्री छँदा गभर्नरका विषयमा पार्टीभित्रै दुई धार देखिएको थियो । आचार्यले रोजेअनुसारको गभर्नर नियुक्त नभएपछि उनले अर्थमन्त्री पद छाडेका थिए ।
सरकारलाई सहयोग नगरेको भन्दै त्यस बेलाका गभर्नर डा. तिलक रावललाई पदबाट हटाइएको थियो । रावललाई हटाएर त्यो बेलाको सरकारले दीपेन्द्रपुरुष ढकाललाई गभर्नर बनाएको थियो । तर रावलले अदालत गएर रिट हालेपछि रावलको पक्षमा फैसला भएको थियो ।
अदालतले आफ्नो निर्णय उल्टाएपछि आचार्यले नैतिकताका आधारमा राजीनामा दिएका दिए । कांग्रेस महामन्त्री शर्माले राजनीतिमा आचार्यजस्तै नैतिकता आवश्यकता रहेको तर्क गरेका छन् ।
स्रोत – नेपालपाना



