काठमाडौ, मंसिर २ गते । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुधबार आयोजना गरेको १७ औँ राष्ट्रिय कफी दिवसका अवसरमा आयोजित कार्यक्रममा संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले कृषकले वस्तुको गुणस्तर र लागतका आधारमा मूल्य तोकेमा कृषि क्षेत्रमा विचौलियाको भूमिका गौण हुने बताएका छन् ।
मन्त्री यादवले उत्पादनको मूल्य किसान आफैँले निर्धारण गर्न पाउनुपर्ने समेत बताए । कफी उत्पादनमा राम्रो सम्भावना रहेकाले कृषकलाई त्यसतर्फ आकर्षित गर्न सरकारले ठूला साना व्यवसायीलाई समानरुपमा सहुलियत उपलब्ध गराउने मन्त्री यादवले प्रतिबद्धता व्यक्त गरे ।
कृषकका क्षति भएको बालीको क्षतिपूर्तिको व्यवस्था गर्न स्थानीयतह, प्रदेश र सरोकारवाला पक्षसँग समन्वय भइरहेको बताउँदै मन्त्री यादवले भने, कृषि बालीमा सुरक्षाको लागि बिमा गर्न आवश्यक रहेको भए पनि त्यस क्षेत्रमा बिमा कम्पनी पछि हटेकाले स्थानीय तहबाट नै समन्वय गर्न आवश्यक रहेको जनाए ।
कफी व्यवसायमा संलग्न विभिन्न संघ संस्थाका प्रतिनिधिले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन सरकारले कफी कृषकलाई सहुलियत उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।
“कफी किसानलाई संरक्षण र प्रोत्साहन, व्यवसायिक कफी उत्पादनमा युवाको योगदान” भन्ने मुल नाराका साथ १७ औँ राष्ट्रिय कफी दिवस काठमाडौको किर्तिपुरमा बुधबार भव्यताका साथ सम्पन्न भएको थियो ।



