सर्लाही । प्रविधिको प्रयोग गरी समाजमा विद्यमान सबैखाले विकृतिको अन्त्य गर्न तथा समाजवादी व्यवस्था निर्माण गर्ने लक्ष्यका साथ गठन भएको ‘आई टी आर्मी’को सर्लाही जिल्ला भेला सम्पन्न भएको छ ।
बुधवार सर्लाहीको ईश्वरपुर नगरपालिका-६, वयलबाँस बजारस्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित आईटी आर्मीको जिल्ला भेलाले समाजसेवी युवा नेता बलराम खडकाको संयोजकत्वमा आईटी आर्मीको सर्लाही जिल्ला कमिटी गठन गरेको छ । युवाहरुमाझ अति लोकप्रिय नेता पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा जिल्लाभरका वामपन्थी नेताहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले युवाहरुले हस्तक्षेपकारी भुमिका खेल्दै विभिन्न तहमा व्याप्त रहेको भ्रष्टाचारका विरुद्ध उत्रिनुपर्ने बताए । आईटी आर्मी गठन हुनु एक ऐतिहासिक सुरुवात भएको बताउदै उनले युवा पुस्ताको सक्रियताले मात्र देश समृद्ध बन्ने भएकोले हार नमानी अगाडि बढ्न निर्देशन दिए । उनले व्यवस्था, शासन प्रणालीलगायतका विषयमा युवा पुस्ताले स्पष्ट धारणा बनाई समाजलाई सहि दिशाबोध गर्न आर्इटी आर्मी अगाडि बढ्नुपर्ने बताए । अस्पष्ट शासन व्यवस्थाको कारण देशमा राजनीतिक तमासा भइहेको बताउदै उनले यसबारे पर्दाफास गर्दै हरेक किसिमका वेथिति र विसङ्गतिको अन्त्य नगरी समृद्धिको सपना साकार हुन नसक्ने जीकिर गरे ।
कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य कुन्दन कुश्वाहा, आईटी आर्मीका राष्ट्रिय संयोजक चन्द्र भुषण साह, नेताहरु नागेन्द्र साह, उदय प्रसाद साह, रविन्द्र सिंह लगायत सहभागी थिए ।



