
नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । प्रहरी वृत्त, बानेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफूबस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।प्रहरीले आत्महत्याकोकारण डिप्रेशन हुनसक्ने जनाएको छ । उनी विगत एक वर्षदेखि डिप्रेशनमा थिइन् । जेनी विगत केही समययता पशुपति मन्दिर परिसरमा साधुको अवतारमा बसिरहेकी थिइन् । केहीअघि उनको पशुपति परिसरमा नै विवाद समेत भएको थियो ।
प्रहरी यतिबेला अपार्टमेन्ट पुगेर घटनाको विषयमा अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार, जेनीको ‘सुसाइड नोट’ समेत भेटिएको छ ।जेनीले चलचित्र ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’लगायतमा काम गरेकी छिन् ।उनले अभिनय तथा निर्माण गरेको चलचित्र ‘घायल’को ‘माया गर मायालुले’ बोलको गीत केही समय अगाडि टिकटकमा समेत हिट भएको थियो ।



