सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–७ डुमडुमेस्थित तरकारी बजार परिसरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
बुधबार दिउँसो स्थानीय ४२ वर्षीय उमेश विश्वकर्मा बजार परिसरभित्र रहेको शौचालयको प्रवेशद्वार नजिकै अचेत अवस्थामा भेटिएका थिए। घटनास्थल पुगेको प्रहरीले जाँच गर्दा उनी मृत अवस्थामा रहेको पुष्टि गरेको जनाएको छ।
घटनाको कारण खुलिनसकेको भन्दै प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले पोस्टमार्टम रिपोर्ट र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा घटनाबारे थप विवरण सार्वजनिक गरिने जनाएको छ।



