सर्लाहीमा मिटरब्याजपीडितमाथि आक्रमण, साहू परिवारविरुद्ध जग्गा हडपेको आरोप

सर्लाही । सर्लाहीमा एक मिटरब्याजपीडितमाथि साहू परिवारले कुटपिट गरेको आरोप लागेको छ। मिटरब्याज पीडित संघर्ष समितिले बसबरिया गाउँपालिका–२ निवासी इन्दल सहनीमाथि मिटरब्याजी साहू लक्ष्मी कुर्मी राउतको परिवारले मंगलबार आक्रमण गरेको जनाएको हो।

संघर्ष समितिकी केन्द्रीय सदस्य लक्ष्मी घिमिरेका अनुसार इन्दल सहनीले केही वर्षअघि लक्ष्मी कुर्मी राउतसँग ८ लाख रुपैयाँ ऋण लिएका थिए। ऋण लिँदा ग्यारेन्टीका रूपमा सहनीको २६ कठ्ठा जग्गा धितोको सट्टा राजीनामा पास गराइएको थियो। मौखिक सहमतिअनुसार सावाँ र ब्याज पूरा चुक्ता गरेपछि जग्गा फिर्ता गर्ने सर्त रहेको बताइएको छ।

घिमिरेका अनुसार सहनीले पटक–पटक गरी करिब १० देखि ११ लाख रुपैयाँ बुझाइसकेका थिए। यसअघि वडा कार्यालयमा समेत जग्गा फिर्ता गर्ने सहमति भएको दाबी गरिएको छ। तर, लक्ष्मी कुर्मी राउतको निधनपछि उनका परिवारले सहनीलाई पुनः दुःख दिन थालेको र राउतका छोरा विलासले उक्त जग्गा अर्कै व्यक्तिको नाममा बिक्री गरिदिएको आरोप संघर्ष समितिले लगाएको छ।

समितिका अनुसार आफ्नो सबै ऋण चुक्ता गरिसकेपछि सहनीले पटक–पटक जग्गा फिर्ता गर्न आग्रह गरे पनि बेवास्ता गरिएको थियो। मंगलबार जग्गाकै विषयलाई लिएर भएको विवादका क्रममा विलास राउतसहित विशेषर, लक्ष्मण, जगदीश, रामप्रवेश शाह तथा परिवारका अन्य सदस्यले सहनीमाथि कुटपिट गरेको आरोप छ।

घटनामा इन्दल सहनी, उनका छोरा उमेश, छोरी मुना र श्रीमती भगवती कुमारी घाइते भएका छन्। उनीहरूको बरहथवा अस्पतालमा उपचार भइरहेको संघर्ष समितिले जनाएको छ।

इन्दल सहनी मिटरब्याजविरुद्ध सञ्चालन भएको पैदल न्याय मार्चका सहभागीसमेत हुन्। सो क्रममा उनीसहितका पीडितसँग गृहमन्त्री सुधन गुरुङले निजगढमा वार्ता गरेका थिए।

यता, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले घटनाबारे प्रहरीलाई औपचारिक जानकारी प्राप्त नभएको बताएका छन्।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय