धनगढी । सुदूरपश्चिम प्रदेशमा शान्ति सुरक्षा, कानुन–व्यवस्था र सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाल प्रहरी र नेपाली सेनाबीच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा बिहीबार नेपाली सेनाको हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिमअन्तर्गत आन्तरिक अध्ययन भ्रमण (IST) मा रहेका अधिकृतहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा प्रदेश प्रहरी कार्यालयले सुदूरपश्चिम प्रदेशमा शान्ति सुरक्षा कायम गर्न देखिएका चुनौती, ती चुनौती समाधानका लागि अपनाइएका रणनीति तथा नेपाल प्रहरी र अन्य सुरक्षा निकायबीचको समन्वयको अवस्था र अपेक्षाबारे प्रस्तुतीकरण गरेको थियो।
अन्तरक्रियामा सहभागी अधिकृतहरूबीच प्रदेशको समग्र सुरक्षा अवस्था, सुरक्षा निकायबीचको सहकार्य र आगामी दिनमा समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।
कार्यक्रममा नेपाली सेनाका सहायक रथी डा. रञ्जित थापा, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराई, सुदूरपश्चिम पृतना हेडक्वाटर तेघरीका सह–चिफ अफ स्टाफ महासेनानी विश्वनाथ तिमिल्सेना, विभिन्न महासेनानी, प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टसहित नेपाली सेना र नेपाल प्रहरीका अधिकृतहरूको उपस्थिति रहेको थियो।








