मलंगवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीले ट्राफिक नियम उल्लंघन नियन्त्रण तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाभर दैनिक रूपमा नियमित ट्राफिक चेकजाँच र कारबाहीलाई थप प्रभावकारी बनाएको छ।
कार्यालयका अनुसार ट्राफिक नियमको पालना गराउन विभिन्न किसिमका अनुगमन तथा कारबाहीलाई तीव्रता दिइएको छ। विद्यालय तथा स्थानीय तहमा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, बिना हेल्मेट दुईपांग्रे सवारी साधन चलाउनेलाई नियन्त्रणमा लिने तथा सवारी साधनमा जडान गरिएका मोडिफाई सामग्री र कालो सिसाको स्टिकर हटाउने कार्य भइरहेको छ।
त्यसैगरी सार्वजनिक सवारी साधनमा सरकारले तोकेको भाडादर टाँस गरिएको छ वा छैन भन्ने अनुगमन, लामो दूरीका सवारी साधनमा अनिवार्य रूपमा दुई जना चालकको व्यवस्था भए–नभएको चेकजाँच तथा स्पष्ट नदेखिने नम्बर प्लेट भएका सवारी साधनलाई नम्बर प्लेट पुनर्लेखन गर्न सूचित गर्ने अभियान पनि सञ्चालन गरिएको छ।
यस्तै, बिना अनुमति (प्रमिट) सञ्चालनमा रहेका विदेशी नम्बर प्लेटका सवारी साधन, आवश्यक कागजातविहीन सवारी साधन, मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक, अत्यधिक गति (ओभरस्पिड) मा सवारी चलाउने तथा जथाभावी पार्किङ गरिएका सवारी साधनमाथि पनि कडा कारबाही भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीले सबै सवारी चालक तथा सर्वसाधारणलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै नियमको पालना गरे ट्राफिक कारबाहीबाट बच्नुका साथै सडक दुर्घटनाको जोखिम पनि कम हुने जनाएको छ।



