मलंगवा । अपराध नियन्त्रण र अनुसन्धानलाई थप प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्लाभर ‘सिसिटिभी लगाऔँ’ अभियान सुरु गरेको छ। अभियानको औपचारिक शुभारम्भ सदरमुकाम मलंगवाबाट गरिएको हो।
सामुदायिक प्रहरी सेवा केन्द्र मलंगवा, सामुदायिक प्रहरी र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त पहल तथा स्थानीय व्यवसायीहरूको सहकार्यमा अभियान अघि बढाइएको प्रहरीले जनाएको छ। अभियानअन्तर्गत प्रमुख बजार, व्यापारिक केन्द्र तथा संवेदनशील स्थानहरूमा सिसिटिभी क्यामेरा जडान गरी सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री बनाइनेछ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख रविन्द्रनाथ पौडेलले आधुनिक प्रविधिको प्रयोगबिना अपराध नियन्त्रण प्रभावकारी हुन नसक्ने उल्लेख गर्दै सिसिटिभी क्यामेरा अपराध न्यूनीकरण, घटनाको अनुसन्धान तथा दोषी पहिचानमा अत्यन्तै उपयोगी माध्यम बनेको बताए।
उनका अनुसार अभियान मलंगवामा मात्र सीमित रहने छैन। जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालयअन्तर्गत पर्ने प्रमुख बजार, चोक तथा भीडभाड हुने स्थानहरूमा पनि चरणबद्ध रूपमा सिसिटिभी जडान विस्तार गरिनेछ।
प्रहरीले स्थानीय तहहरूलाई पनि सार्वजनिक स्थल, मुख्य चोक तथा अपराधको जोखिम बढी रहेका क्षेत्रमा सिसिटिभी जडान गरी त्यसको निगरानी प्रहरीसँग समन्वय हुने व्यवस्था मिलाउन आग्रह गरेको छ। प्रहरी प्रमुख पौडेलका अनुसार केही स्थानीय तहले आगामी आर्थिक वर्षका लागि सिसिटिभी जडान सम्बन्धी बजेटसमेत विनियोजन गरिसकेका छन्।
उद्योग वाणिज्य संघ मलंगवाका महासचिव संजय यादवले बजार क्षेत्रमा सुरक्षा सुदृढ बनाउन प्रत्येक व्यवसायीले आफ्ना पसल तथा प्रतिष्ठानमा सिसिटिभी जडान गर्नुपर्ने आवश्यकता औंल्याए। पछिल्लो समय मोटरसाइकल तथा साइकल चोरीका घटना बढ्दै गएको र खुला नेपाल–भारत सीमाका कारण सुरक्षा चुनौती थपिएको भन्दै उनले बजारका मुख्य चोक र सार्वजनिक स्थानहरूमा पनि सिसिटिभी विस्तार गर्न स्थानीय तहलाई आग्रह गरे।
उनले उद्योग वाणिज्य संघका जिल्लाभर रहेका शाखाहरूसँग समन्वय गरी अभियानलाई सफल बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
जिल्ला प्रहरी कार्यालयका अनुसार उद्योग वाणिज्य संघ मलंगवासँगको सहकार्यमा सुरु गरिएको यो अभियान आगामी दिनमा जिल्लाका अन्य स्थानीय तह र प्रमुख बजार क्षेत्रमा समेत विस्तार गरिनेछ।



