सर्लाही । सर्लाहीको बलरा नगरपालिका –२ स्थित हतिवल बाँध नजिकको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निर्यात हुँदै गरेको करिब एक करोड रुपैयाँ बराबरको खरबुजाको बिउ सशस्त्र प्रहरीले बरामद गरेको छ।
पछिल्लो समय बीउजन्य वस्तुको अवैध कारोबार बढ्दै गएको बेला सशस्त्र प्रहरी बलले तस्करी नियन्त्रणमा लगातार सक्रियता देखाएको छ।
असार १० गते राति करिब १० बजे विशेष सूचनाको आधारमा सीमा सुरक्षा गुल्म मुख्यालय सिमराबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णुदत्त अवस्थी, सीमा सुरक्षा गुल्म मुख्यालय मलंगवाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णु अधिकारी तथा नं. १० गण मुख्यालय सर्लाहीबाट सशस्त्र प्रहरी निरीक्षक कृष्ण गुरुङको कमाण्डमा खटिएको करिब ८० जनाको संयुक्त टोलीले सीमाक्षेत्रमा छापा मारेको थियो।
टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको २०० बोरा खरबुजाको बिउ चार वटा भारतीय नम्बर प्लेटका बोलेरो र एक नेपाली नम्बर प्लेटको मिनी ट्रकमा लोड गरिएको अवस्थामा फेला पारेको थियो। सशस्त्र प्रहरी पुगेको थाहा पाएलगत्तै संलग्न व्यक्तिहरू गाडी तथा सामान छाडेर फरार भएका थिए। त्यसपछि प्रहरीले गाडीसहित सामान नियन्त्रणमा लिएको जनाएको छ।
बरामद गरिएको खरबुजाको बिउको अनुमानित मूल्य एक करोड रुपैयाँ रहेको बताइएको छ। सामान तथा सवारी साधन आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालय पठाइएको छ भने फरार व्यक्तिहरूको खोजी भइरहेको छ।
यसअघि पनि सशस्त्र प्रहरीले मलंगवा क्षेत्रमा बीउ तस्करीविरुद्ध ठूलो कारबाही गरेको थियो।
सर्लाहीको मलंगवा नगरपालिका–२, कृष्णमन्दिरस्थित नवीनकुमार यादव सञ्चालक रहेको दिनकर सेल्स सप्लायर्स मा छापा मारेर ७५ बोरा फर्सीको बिउ बरामद गरिएको थियो। सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट प्राप्त विशेष सूचनाका आधारमा नं. १० गण सर्लाही, सीमा सुरक्षा गुल्म मलंगवा, बोर्डर आउट पोष्ट खुटौना, नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले उक्त कारबाही गरेको थियो।
छापाका क्रममा केही स्थानीयले विरोध गर्दै ढुंगामुढासमेत गरेका थिए। स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एक राउन्ड ग्यास सेल प्रहार गर्नुपरेको थियो भने ढुंगा प्रहारबाट सशस्त्र प्रहरीको एउटा ट्रकमा सामान्य क्षति पुगेको थियो। बरामद गरिएको फर्सीको बिउ पनि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको थियो।
लगातार दुई ठूला कारबाहीपछि सर्लाहीको सीमावर्ती क्षेत्रमा बीउजन्य वस्तुको अवैध कारोबार तथा तस्करीको सञ्जाल सक्रिय रहेको संकेत देखिएको छ। सुरक्षा निकायले सीमाक्षेत्रमा निगरानी थप कडा बनाएको जनाएको छ।



