जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई प्रयोग गर्ने सरकारी सवारीमाथि मधेश भवन परिसरभित्रै तोडफोड भएको घटना सार्वजनिक भएको छ। बुधबार बिहान मन्त्रालय अगाडि पार्किङ गरेर राखिएको ज १ झ ४४१ नम्बरको गाडीमा अज्ञात व्यक्तिले क्षति पुर्याएका हुन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मनोज यादवका अनुसार बिहान करिब ११ बजे स्कारपिओ गाडीमा आएका एक व्यक्ति मन्त्रालय परिसरमा प्रवेश गरेका थिए। परिसरमा जडान गरिएको सीसीटीभी फुटेजमा ती व्यक्ति केहीबेर गाडी वरिपरि घुम्दै निगरानी गरेको देखिएको र त्यसपछि अर्थमन्त्रीको गाडीमा राखिएको राष्ट्रिय झण्डा भाँचेर भुइँमा फालेको देखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाका बेला ती व्यक्ति कानमा मोबाइल फोन लगाएर मन्त्रालय परिसरभित्र हिँडडुल गरिरहेको फुटेजमा देखिएको छ। घटनाको प्रकृति हेर्दा पूर्वयोजनाअनुसार गरिएको हुन सक्ने आशंकासहित अनुसन्धान अघि बढाइएको छ।
घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मधेश भवन परिसरमा केही घण्टासम्म अनुसन्धान तथा निगरानी गरेको थियो। तर, परिसरमा जडान गरिएका अधिकांश सीसीटीभी क्यामेरा बिग्रिएको अवस्थामा रहेकाले तोडफोडमा संलग्न व्यक्ति र उनी चढेर आएको सवारीको पहिचान गर्न कठिनाइ भइरहेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले घटनालाई संवेदनशील रूपमा लिँदै संलग्न व्यक्ति र प्रयोग गरिएको सवारीको खोजी तथा थप अनुसन्धानलाई तीव्र बनाइएको जनाएको छ।



