प्रहरीभित्रकै कर्मचारीको प्रभावशाली पहुँच ! अंकित सिंहमाथि तस्करी सञ्जालसँग निकटताको आरोप

काठमाडौं । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत प्रहरी सहायक हवल्दार अंकित सिंह फेरि विवादको केन्द्रमा आएका छन्। उनीमाथि कोशी प्रदेशबाट मधेस हुँदै भारतसम्म फैलिएको गाँजा तस्करी सञ्जालसँग निकट सम्बन्ध राख्दै विभिन्न स्थानमा प्रभाव जमाएको आरोप लागेको छ।

प्रहरी स्रोतका अनुसार सिंह हाल कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी बिनोद घिमिरेको मातहतमा कार्यरत छन्। औपचारिक रूपमा साइबर शाखामा खटिएको भनिए पनि उनी सादा पोसाकमा विभिन्न गतिविधिमा संलग्न हुने गरेको दाबी सुरक्षा निकायभित्रबाटै उठ्ने गरेको छ।

स्रोतहरूका अनुसार सिंह नियमित रूपमा जनकपुर र महोत्तरी पुग्ने गरेका छन्। त्यहाँ उनले गाँजा कारोबारमा सक्रिय रहेको आरोप लागेका केही व्यक्तिहरूसँग भेटघाट गर्ने र त्यसपछि उच्च प्रहरी अधिकारीहरूसम्म पहुँच बनाउने गरेको दाबी गरिएको छ। कोशी क्षेत्रमा उत्पादन हुने गाँजा सप्तरी हुँदै भारतीय सीमासम्म पुर्‍याउने क्रममा विभिन्न तहमा ‘सेटिङ’ मिलाइने गरिएको आरोपसमेत छ।

यस कार्यमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत एक डीएसपीका बडिगार्ड प्रहरी जवान अमित रायको समेत भूमिका रहेको स्रोतहरूको भनाइ छ। ताप्लेजुङ दरबन्दी भएका राय प्रभावका आधारमा लामो समयदेखि सप्तरीमै बस्दै आएको बताइन्छ।

अंकित सिंह यसअघि पनि विवादमा परेका व्यक्ति हुन्। मधेस प्रदेशमा कार्यरत रहँदा विभिन्न व्यापारीहरूसँग रकम असुली गरेको आरोप लागेपछि उनको आलोचना बढेको थियो। त्यसपछि प्रहरी प्रधान कार्यालयले उनलाई तानेर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो। छानबिनपछि उनको पाँचथर सरुवा गरिएको भए पनि केही समयमै काजमा पुनः कोशी प्रदेश प्रहरी कार्यालय ल्याइएको स्रोतको दाबी छ।

प्रहरी संगठनभित्रै कतिपय अधिकारीहरूले सिंहको भूमिका सूचना संकलनभन्दा बढी विभिन्न स्रोतबाट रकम उठाउनेतर्फ केन्द्रित रहेको आरोप लगाउने गरेका छन्। उनीमाथि आफूलाई असहज ठानिएका प्रहरी कर्मचारी तथा अधिकृतविरुद्ध बेनामी उजुरी दिने, नक्कली सामाजिक सञ्जाल खाता प्रयोग गरी अभियान चलाउने र एकभन्दा बढी मोबाइल तथा ल्यापटप प्रयोग गरेर सम्पर्क सञ्जाल सञ्चालन गर्ने गरेको आरोप पनि लागेको छ।

यता, डीआईजी बिनोद घिमिरेले भने सिंहलाई सादा पोसाकमा परिचालन गरिएको आरोप अस्वीकार गरेका छन्। उनले अंकित सिंह साइबर शाखामा कार्यरत रहेको र सूचना प्रविधिसम्बन्धी ज्ञानका कारण आफूले नै उनलाई कोशी प्रदेशमा ल्याएको बताएका छन्।

प्रहरी संगठनभित्र सामान्य दर्जाका एक कर्मचारीले प्रदेश–प्रदेशसम्म प्रभाव विस्तार गर्न सफल भएको विषयले भने थप प्रश्न खडा गरेको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय