सर्लाहीमा फरार ११ प्रतिवादी पक्राउ, १ लाख ८२ हजार रुपैयाँ जरिवाना असुल

मलंगवा । सर्लाही प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार फरार प्रतिवादी खोजतलास अभियानअन्तर्गत खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी सर्लाही जिल्ला अदालतमा उपस्थित गराएको हो।

पक्राउ पर्नेमा बरहथवा नगरपालिका–१० का राजकिशोर कुशवाहा रहेका छन्। उनी बिगो मुद्दामा एक वर्ष कैद सजाय तोकिएपछि फरार रहेका थिए। यस्तै, गोडैता नगरपालिका–९ का शिव पुजन रायलाई ज्यानसम्बन्धी कसुर मुद्दामा पूर्वनिर्धारित आदेशअनुसार कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ज्यान मार्ने उद्योग मुद्दाका दुई, लुटपाटका दुई, सवारी ज्यानका एक, चोरीका एक, चेक अनादरका एक तथा गाली बेइज्जती मुद्दाका चार जना गरी कुल ११ जना फरार प्रतिवादी पक्राउ परेका छन्।

उनीहरूबाट अदालतले तोकेको एक लाख ८२ हजार रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए।

प्रहरीले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने अभियानलाई निरन्तरता दिइने जनाएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय