सर्लाही । एभिन्युज टेलिभिजनका पत्रकार बखतियार अलि लाई गालीबेइज्जती तथा धम्की दिएको आरोपमा मलंगवा–१० स्थित स्तुती सौम्य हेल्थ केयरका सञ्चालक डा. गुणेश्वर झा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले डा. झाविरुद्ध गालीबेइज्जती तथा धम्कीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी पक्राउ गरिएको जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राई का अनुसार पक्राउ परेका डा. झामाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइनेछ ।
पत्रकार अलिले गत फागुन ५ गते डा. झाले सञ्चालन गरेको स्तुति सौम्य हेल्थकेयर सेन्टरमा उपचारका क्रममा सर्लाहीको विष्णु गाउँपालिका–६ निवासी दलित विपन्न परिवारका ३ महिने बालक अभि बैठाको मृत्यु भएको विषयमा समाचार संकलन गरेका थिए । आरोप अनुसार बालकको मृत्यु भएपछि क्लिनिकले मृतकका अभिभावकसँग ६० हजार रुपैयाँ माग्दै शव दिनभर नियन्त्रणमा राखेको थियो ।
उक्त घटनाको समाचार संकलन गरेपछि डा. झाले समाचार हटाउन दबाब दिने, पटक–पटक फोन गरेर धम्की दिने तथा सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गरेको आरोप पत्रकार अलिले लगाएका छन् ।
डा. झा यसअघि पनि विभिन्न विवादमा तानिँदै आएका व्यक्ति हुन् । सामाजिक सञ्जालमार्फत गरिब तथा विपन्न बिरामीलाई सहुलियतमा उपचार गराइदिने प्रचार गर्ने गरेका उनीमाथि बिरामी भर्ना भएपछि चर्को शुल्क असुल्ने गरेको आरोप लाग्दै आएको छ । रकम तिर्न नसक्ने बिरामी र कुरुवालाई क्लिनिकमै रोकेर राख्ने गरेको गुनासो समेत स्थानीयस्तरमा बेलाबेलामा उठ्ने गरेको छ ।
घटनापछि नेपाल पत्रकार महासंघ सर्लाही शाखा र नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति ले संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको धम्की र दबाबको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
महासंघले संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप स्वीकार्य नहुने उल्लेख गर्दै कुनै समाचारप्रति असन्तुष्टि भए कानुनी बाटो अपनाउन सकिने अवस्थामा पत्रकारलाई धम्क्याउने कार्य निन्दनीय भएको जनाएको छ ।



