सर्लाही । सर्लाहीको मलंगवामा निर्माणाधीन घरको छत भत्किँदा दुई जना मजदुरको मृत्यु भएको छ ।
बुधबार अपराह्न मलंगवा नगरपालिका–१० स्थित रञ्जित यादवको चार तल्ले पक्की घरमा काम गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पानी ट्याङ्की राख्ने ढलानमाथि प्लास्टर गर्ने क्रममा छत भत्किएर मलंगवा–२ निवासी अन्दाजी ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ निवासी अन्दाजी ४० वर्षीय राजकिशोर यादव तल खसेका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको थियो । तर उपचारकै क्रममा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन् ।
घटनापछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकीको नेतृत्वमा टोली खटिएको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।



