काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी अधिकृतहरूको सरुवाको तयारी अघि बढाइएको छ । प्रहरी प्रधान कार्यालयले अवधि पूरा गरेका इन्चार्ज र कार्यालय प्रमुखहरूको जिम्मेवारी हेरफेर गर्न लागेको स्रोतले जनाएको छ ।
प्रहरी महानिरीक्षक निकट स्रोतका अनुसार इन्सपेक्टरदेखि एसएसपी तहसम्मको सरुवा सूची तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ । एक वर्षभन्दा बढी समय एउटै जिम्मेवारीमा रहेका अधिकृतहरूलाई प्राथमिकतामा राखेर हेरफेर गर्न लागिएको बताइएको छ ।
यसपटक विभिन्न जिल्लाका प्रहरी प्रमुखसँगै काठमाडौं र ललितपुरका एसएसपीसमेत परिवर्तन हुने सम्भावना रहेको छ । काठमाडौं उपत्यका प्रहरी परिसरका प्रमुख रमेश थापाले आठ महिना नेतृत्व सम्हालिसकेका छन् । यसअघि काठमाडौं परिसरका प्रमुखहरू सामान्यतया ६ महिनामै परिवर्तन हुने अभ्यास रहेको थियो ।
काठमाडौं परिसरको नेतृत्वका लागि आधा दर्जनभन्दा बढी एसएसपीहरू सक्रिय रूपमा दौडधुपमा रहेको स्रोतको दाबी छ । त्यस्तै, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीको कार्यकाल पनि एक वर्ष नजिक पुगेकाले उनको समेत सरुवा हुन सक्ने चर्चा छ ।
प्रहरी प्रशिक्षण तथा तालिम केन्द्रमा कार्यरत केही एसएसपीहरूको जिम्मेवारीसमेत फेरबदल गर्ने तयारी भइरहेको बताइएको छ । यता, कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै तराईका केही जिल्लाका एसपीहरूमाथि गुनासो बढेपछि उनीहरू पनि सरुवाको सूचीमा परेको चर्चा छ ।
सुनसरीका एसपी केशव थेवे र सप्तरीका एसपी गौतम केसीको कार्यशैलीबारे उजुरी बढ्दै गएको स्रोतको भनाइ छ । विभिन्न जिल्लामा कार्यरत डिएसपीहरूको समेत हेरफेर हुने सम्भावना रहेको छ ।
विशेषगरी तराईका जिल्लामा ट्राफिक इन्चार्जको जिम्मेवारी लिन इन्सपेक्टर तहका अधिकृतहरूबीच प्रतिस्पर्धा बढेको बताइएको छ ।
हाल गृहमन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री बालेनले सम्हालिरहेका छन् । तर, प्रहरी सरुवामा प्रधानमन्त्रीको प्रत्यक्ष चासो नरहेको र प्रहरी नेतृत्वले प्रधानमन्त्री सचिवालयसँग समन्वय गरेर तयारी अघि बढाएको स्रोतको दाबी छ ।



