भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग विवादपछि सशस्त्र डीएसपी हमाल छिन्नमस्ता बाहिनी तानिए

सिरहा । सिरहाको बरियारपट्टी सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका डीएसपी विजय हमाललाई छिन्नमस्ता बाहिनी, महोत्तरीमा तानिएको छ। स्थानीयसँग भएको विवाद र आचरणसम्बन्धी आरोपका विषयमा छानबिन गर्न उनलाई बाहिनीमा बोलाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टका अनुसार, स्थानीयसँगको झडप, आक्रोशित व्यवहार र भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोगबारे उठेका प्रश्नपछि छानबिन प्रक्रिया अघि बढाइएको हो।

हुलाकी राजमार्गअन्तर्गत बरियारपट्टी सीमा क्षेत्रमा भन्सार छली गरी ल्याइँदै गरेको डिजेल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीयसँग विवाद भएको थियो। सोही क्रममा डीएसपी हमाल आक्रोशित शैलीमा प्रस्तुत भएको आरोप छ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनले ‘तिमीहरू तस्कर हौ’ भनेको सुनिन्छ भने स्थानीयले उल्टै उनको व्यवहारमाथि प्रश्न उठाएका छन्। भिडियोमा उनी हेलमेट लगाएर बीआर ०६ डीवाई ३०४१ नम्बरको भारतीय मोटरसाइकल प्रयोग गर्दै आएको पनि देखिएको छ।

विवादपछि स्थानीयहरूले सिरहा क्षेत्र नं. २ का सांसद शिवकुमार यादवलाई घटनास्थलमा बोलाएका थिए। निरीक्षणपछि सांसद यादवले सर्वसाधारणलाई सामूहिक रूपमा तस्कर भन्नु गलत भएको टिप्पणी गर्दै प्रहरीको व्यवहारबारे छानबिन र आवश्यक कारबाहीको माग गरेका छन्।

स्थानीयवासीहरूले समेत प्रहरीको व्यवहारप्रति आपत्ति जनाउँदै कारबाहीको माग गरेका छन्। यता, सशस्त्र प्रहरी बल सिरहाका एसपी सुमनजंग थापाले विवादपछि डीएसपी हमाललाई मधेश प्रदेश बाहिनी–२, महोत्तरीमा तानिएको पुष्टि गरेका छन्। हमाल बरियारपट्टीस्थित माडर अन्तर्गतको क्षेत्रमा कार्यरत थिए।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय