भन्सार निर्णयले तराई-मधेसको जनजीवन प्रभावित- तत्काल पुनर्विचार गर्न पूर्व मन्त्री यादवको अपिल

एसपी यादव/सर्लाही, बैशाख १० गते । पूर्व संघीय सांसद तथा मन्त्री महिन्द्र राय यादवले नेपाल सरकारले हालै गरेका भन्सारसम्बन्धी निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल पुनर्विचार गर्न नेपाल सरकारसँग अपिल गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका नेता यादवद्वारा बिहीबार जारी अपिलमा नेपाल-भारतबीच सदियौँदेखि कायम पारिवारिक, धार्मिक, सांस्कृतिक तथा भाषिक सम्बन्ध अत्यन्त घनिष्ठ रहेको उल्लेख गरिएको छ । तर हालको भन्सार नीतिले विशेषगरी नेपाल-भारत खुला सीमावर्ती क्षेत्रमा बसोबास गर्ने तराई-मधेसका आम नागरिकको दैनिक जीवनमा प्रत्यक्ष असर पारेको नेता यादव बताउँछन् ।

उनले यस्तो परिस्थितिमा सर्वसाधारणले दैनिक रूपमा प्रयोग गर्ने अत्यावश्यक सामग्रीहरूको सहज आपूर्ति सुनिश्चित गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । साथै विगतदेखि चलिआएको जनजीवनलाई ध्यानमा राख्दै व्यवहारिक तथा जनमैत्री निर्णय तत्काल लिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

नेता यादवका अनुसार, भन्सार नीतिको प्रभावले सीमावर्ती क्षेत्रको जनजीवन अस्तव्यस्त बन्नुका साथै दैनिक उपभोग्य तथा अन्य अत्यावश्यक वस्तुहरूको आपूर्ति प्रभावित भएको छ । यसको परिणामस्वरूप मूल्यवृद्धि र असहजता बढ्दै गएको छ, जसले विशेषगरी न्यून आय भएका परिवारहरूमा थप आर्थिक बोझ सिर्जना गरेको छ । साथै यसले सीमावर्ती क्षेत्रको सामाजिक तथा आर्थिक सन्तुलनसमेत खलबलिन थालेको उनको भनाइ छ । उनले वर्तमान परिस्थितिको गम्भीर समीक्षा गर्दै जनताको दैनिकी सहज हुने गरी भन्सार नीतिमा आवश्यक संशोधन गर्न सरकारसँग आग्रह गरेका छन् । विशेषगरी सीमावर्ती क्षेत्रमा दैनिक प्रयोग हुने सामग्रीको आपूर्ति सहज बनाउने र आपूर्ति शृंखला अवरुद्ध हुन नदिने तथा स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर नीति निर्माण गर्नुपर्ने आवश्यकता उनले औँल्याएका छन् ।

उनले भन्सार नीतिको मूल उद्देश्य राजस्व वृद्धि भए पनि यदि त्यसले नेपाल-भारत खुला सीमावर्ती क्षेत्रमा बसोबास गर्ने तराई-मधेसका आम जनताको आधारभूत जीवनशैलीमै प्रतिकूल प्रभाव पार्छ भने त्यस्तो नीति दीर्घकालीन रूपमा टिकाउ हुन नसक्ने बताए । त्यसैले सरकारको दायित्व केवल नियम कडाइ गर्नु मात्र नभई जनताको वास्तविक आवश्यकतालाई सम्बोधन गर्नु पनि रहेको उनको भनाइ छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय