धनुषा । मधेस प्रदेशमा सीमा नाकामा कडाइ गरिएसँगै अवैध कारोबारमा संलग्न समूह, घुमुवा प्रहरी र प्रहरी नेतृत्वबीचको विवाद सतहमा आएको छ । पछिल्ला दिनहरूमा सार्वजनिक भएको अडियो प्रकरण, आरोप–प्रत्यारोप र सम्बन्धित अधिकारीहरूको सम्पर्कबाहिर रहने अवस्थाले प्रहरी संगठनभित्रको आन्तरिक तनाव थप बढाएको देखिन्छ ।
मधेस प्रदेश प्रहरी प्रमुख गोविन्द थपलिया ले सीमा नाकामा कडाइ गर्दै तस्करी नियन्त्रणका लागि कडा निर्देशन दिएपछि त्यसको प्रत्यक्ष असर देखिन थालेको प्रहरी स्रोतहरू बताउँछन् । नाकामा निगरानी बढेपछि अवैध कारोबारमा संलग्न समूह असन्तुष्ट बनेको र त्यसकै प्रभावस्वरूप आन्तरिक विवाद सतहमा आएको दाबी गरिएको छ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत विवादित सई सागर राणाको नाम जोडिएको अडियो प्रकरणले थप हलचल मच्चाएको छ । सार्वजनिक भएको भनिएको अडियोमा सागर राणा र व्यापारी राजेश महासेठबीचको संवाद रहेको दाबी गरिएको छ, जसमा प्रहरी नेतृत्व, घुमुवा परिचालन र आन्तरिक असन्तुष्टिबारे कुराकानी भएको सुनिने बताइन्छ । उक्त अडियोमा केही उच्च प्रहरी अधिकारीहरूको नामसमेत उल्लेख भएको चर्चा छ ।
प्रहरी स्रोतका अनुसार केही दिनअघि प्रहरी चौकी जानकीका इन्चार्ज रहेका सागर राणाविरुद्ध बेनामी उजुरी परेपछि उनलाई जिम्मेवारीबाट हटाएर मधेस प्रदेश प्रहरी कार्यालय तानेर छानबिन सुरु गरिएको थियो । तर त्यसपछि असन्तुष्ट बनेका राणाले विभिन्न माध्यममार्फत प्रहरी नेतृत्वविरुद्ध बदनाम गराउने र चरित्रहत्या गर्ने गतिविधि थालेको आरोपसमेत लगाइएको छ ।
यस विषयमा बुझ्न सई सागर राणालाई उनको मोबाइलमा सम्पर्क गर्दा फोन स्वीच अफ रहेको पाइएको छ । त्यस्तै, धनुषा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रुगमबहादुर कुवरलाई समेत सम्पर्क गर्न खोजिए पनि उनी सम्पर्कमा आउन नसकेको स्रोतहरूले जनाएको छ । सम्बन्धित अधिकारीहरू सम्पर्कबाहिर रहनुले प्रकरण थप रहस्यमय बनेको छ ।
सागर राणा लामो समयदेखि धनुषा क्षेत्रमा विवादित घुमुवा प्रहरीका रूपमा चिनिँदै आएका छन् । स्रोतहरूका अनुसार उनी पैसा र पहुँचको भरमा विभिन्न स्थानमा काज मिलाएर परिचालन हुने, नाकामा सक्रिय रहँदै आर्थिक लाभ लिने तथा व्यापारी र बिचौलियासँग समन्वय गरेर असुली गर्ने कार्यमा संलग्न रहेको आरोप लाग्दै आएको छ । धनुषामा अवैध गतिविधिबारे गहिरो जानकारी भएकै कारण उनले विभिन्न एसपीहरूसँग निकट सम्बन्ध राख्ने र त्यसको फाइदा उठाउँदै नाकाबाट रकम संकलन गर्ने गरेको दाबीसमेत स्रोतहरूले गरेका छन् ।
यसअघि पनि सागर राणाको नाम विभिन्न विवादमा जोडिँदै आएको बताइन्छ। वीरगञ्ज क्षेत्रमा एक वडा अध्यक्षमाथि कुटपिट गरेको घटनापछि उनीविरुद्ध मुद्दा दर्ता भएको आरोपसमेत छ । साथै व्यापारी तथा होटल व्यवसायीसँग धम्की दिएर रकम असुल्ने, विभिन्न स्थानमा प्रभाव जमाउने र आर्थिक गतिविधिमा संलग्न हुने जस्ता आरोपहरू पनि उनीमाथि लाग्दै आएका छन्, यद्यपि यी सबै दाबीहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
उता, मधेस प्रदेश प्रहरी प्रमुख गोविन्द थपलिया ले भने पछिल्लो समय आफैं आठ वटै जिल्लामा अनुगमनमा खटिएर सीमा नाकामा तस्करी नियन्त्रण गर्न सक्रिय भूमिका निर्वाह गरिरहेको बताएका छन् । उनले तस्करी नियन्त्रणका लागि आफूले कुनै कसर बाँकी नराखेको र प्रहरी परिचालनलाई थप प्रभावकारी बनाइएको दाबी गरेका छन् ।
प्रहरी प्रशासनले भने सार्वजनिक भएका अडियो तथा आरोपहरूलाई पुष्टि नभएको र भ्रामक भएको बताउँदै आन्तरिक छानबिन जारी रहेको जनाएको छ । संगठनभित्र देखिएको असन्तुष्टि, घुमुवा परिचालनको विवाद र नेतृत्वमाथि उठेका प्रश्नका कारण मधेस प्रदेश प्रहरीभित्रको वातावरण थप संवेदनशील बनेको देखिन्छ ।



