काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–मणिग्रामस्थित सीएमजी क्लब क्यासिनोमा प्रहरीले छापा मार्दै जुवा खेलाइरहेका र खेलिरहेका गरी ६ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट डीएसपीको नेतृत्वमा खटिएको टोलीले बुधबार राति नियमित अनुगमनका क्रममा उक्त क्यासिनोमा छापा मारेको हो । छापामार कार्यवाहीका क्रममा क्यासिनो सञ्चालनमा संलग्न २ जना र जुवा खेलिरहेका ४ जना नेपाली नागरिक पक्राउ परेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिनेमा क्यासिनोका कर्मचारी सर्लाही बरहथवा–८ का ३१ वर्षीय मुकेशकुमार श्रेष्ठ र ललितपुर गोदावरी–१५ का ४१ वर्षीय अजय केसी रहेका छन् ।
यस्तै, जुवा खेल्नेहरुमा बुटवल उपमहानगरपालिका–१२ का ३५ वर्षीय गोबिन्द शर्मा, वडा नम्बर ९ का बासुदेव गौतम, कृष्ण गौतम र वडा नम्बर ११ का ३६ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट ७ गड्डी तास, २ लाख १७ हजार ३ सय ९० रुपैयाँ नेपाली नगद, ३ हजार ५ सय भारतीय रुपैयाँ, १ लाख २५ हजार बराबरका क्यासिनो क्वाइन तथा ६ थान मोबाइल फोन बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी कृष्णबहादुर चन्दका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
सांसदसँग जोडिएको क्यासिनो
छापा परेको सीएमजी क्लब क्यासिनो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद नरेन्द्र साह कलवारसँग सम्बन्धित रहेको खुलेको छ । सर्लाही–३ बाट निर्वाचित सांसद कलवारका विभिन्न स्थानमा क्यासिनो सञ्चालनमा रहेको बताइएको छ ।
उनले आफ्नै कम्पनीमार्फत देशका विभिन्न सहरका होटलहरूमा अदालतको अन्तरिम आदेशको आधारमा क्यासिनो सञ्चालन गर्दै आएको आरोप लाग्दै आएको छ । क्यासिनो सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रिया पूरा नगरी अन्तरिम आदेशकै भरमा सञ्चालन गर्दा राज्यले ठूलो परिमाणमा राजस्व गुमाइरहेको दाबी समेत गरिएको छ ।
यस विषयमा सम्बन्धित निकायबाट अनुसन्धान र निगरानी आवश्यक देखिएको छ ।



