मलंगवा । सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ बिर्ता बजारमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएकी महिलाका परिवार क्षतिपूर्ति लिन सम्पर्कमा नआएको भन्दै प्रहरीले स्पष्टीकरण दिएको छ ।
कात्तिक १६ गते बिहान करिब १० बजे स्थानीय श्याम सुन्दर ठाकुरकी श्रीमती ६१ वर्षीया शान्ति देवी ठाकुरलाई बरकर्वा टोलका विशाल महतोले चलाएको BR30AP3037 नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी ठाकुरको उपचारका क्रममा सोही दिन वीरगञ्जस्थित अस्पतालमा दिउँसो ४ बजे मृत्यु भएको थियो ।
घटनामा संलग्न चालक महतो सवारी ज्यान कसुर मुद्दामा पक्राउ परेका थिए । उनलाई सर्लाही जिल्ला अदालतले मंसिर १२ गते एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । त्यस्तै, जिल्ला प्रशासन कार्यालय मलंगवाबाट समेत ५ लाख ५५ हजार रुपैयाँ धरौटीमा उनी तारेखमा छुटेका छन् ।
यसक्रममा, मृतकका श्रीमान् श्याम सुन्दर ठाकुरलाई कानुनअनुसार उपचार खर्च, किरिया खर्च तथा क्षतिपूर्ति रकम लिन पटक–पटक सम्पर्क गर्न भनिए पनि हालसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सवारी ज्यान कसुर तथा क्षतिपूर्तिसम्बन्धी अनुसन्धान प्रतिवेदन २२ औँ दिनमै जिल्ला सरकारी वकिल कार्यालय मलंगवामा पेश भइसकेको छ ।
यसबीच, डिसि नेपालमा प्रकाशित “दुर्घटनामा ज्यान गुमाएका परिवारले क्षतिपूर्ति पाएनन्: चालक धरौटीमा रिहा, प्रहरीको भूमिका माथि प्रश्न” शीर्षकको समाचारप्रति प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ ।
प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विन्देश्र यादवले आधारविहीन, भ्रामक तथा तथ्यहीन समाचार प्रकाशन नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । साथै, पीडित पक्षलाई आवश्यक कागजातसहित सम्बन्धित निकायमा सम्पर्क गरी क्षतिपूर्ति प्रक्रिया अघि बढाउन पुनः अनुरोध गरिएको छ ।



