सर्लाहीसहित देशभर एसईई सुरु, ११ हजारभन्दा बढी परीक्षार्थी सहभागी

सर्लाही । सर्लाहीसहित देशभर आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) एकैसाथ सुरु भएको छ। पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ।
सर्लाही जिल्लामा बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन भइरहेको छ। जिल्लामा यस वर्षका लागि ३५ वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीले जनाएको छ। विद्यार्थी संख्या घटेकाले गत वर्षको तुलनामा यस वर्ष तीन वटा केन्द्र कम गरिएको हो।
प्राविधिक धारतर्फको परीक्षा सदरमुकाम मलङ्गवास्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको छ।
शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्रमुख मित्रप्रसाद गौतमका अनुसार जिल्लाबाट यस वर्ष नियमिततर्फ १० हजार २८५ र ग्रेडवृद्धितर्फ १ हजार ८६ गरी कुल ११ हजार ३७१ जना परीक्षार्थी सहभागी भएका छन्।
उनका अनुसार सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका र प्रश्नपत्र नजिकका प्रहरी चौकीमार्फत सुरक्षित रूपमा पुर्‍याइएको छ। धेरै विद्यार्थीहरू टाढा केन्द्र परेकाले नजिकै कोठा भाडामा लिएर बसेका छन्।
यस वर्षदेखि परीक्षा केन्द्रमा केन्द्राध्यक्ष बाहेक अरूलाई मोबाइल फोन प्रयोग गर्न निषेध गरिएको छ। त्यस्तै, परीक्षार्थी, शिक्षक तथा कर्मचारीलाई चिट, गाइड, किताब, नोटबुक, मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक सामग्री प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले एसईईलाई स्वच्छ, मर्यादित र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबै पक्षसँग सहयोगको आग्रह गरेका छन्।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय